बेनीघाट रोराङमा दुई दिने ‘युवा सम्मेलन–२०८३’ हुँदै, आवेदन खुला

Avatar photo
Dhadingpost
बैशाख १८, २०८३

धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा युवाहरूलाई एकै थलोमा भेला गराई स्थानीय विकासका विविध मुद्दामा केन्द्रित गराउने उद्देश्यसहित ‘बेनीघाट रोराङ युवा सम्मेलन–२०८३’ आयोजना हुने भएको छ ।

युवा तथा खेलकुद विकास समिति, वडा नं. ५ को आयोजनामा आगामी जेठ १५ र १६ गते दुई दिने आवासीय सम्मेलन सञ्चालन गर्न लागिएको हो । सम्मेलनमा गाउँपालिकाभित्रका सिर्जनशील तथा सक्रिय युवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा शिक्षा, खेलकुद, पर्यटन र कृषि क्षेत्रका विषयमा प्यानल छलफल गरिनेछ। स्थानीय शिक्षाको अवस्था र सुधारका उपाय, खेल क्षेत्रको विकास र युवा सहभागिता, बेनीघाट रोराङका प्राकृतिक स्रोत–साधनको प्रवर्द्धन तथा आधुनिक कृषिमार्फत स्वरोजगारका सम्भावनाबारे विशेष छलफल हुने कार्यक्रम तय गरिएको छ ।

आयोजकका अनुसार आफ्नो गाउँ र समाजको विकासमा योगदान गर्न चाहने युवाहरूका लागि यो सम्मेलन महत्वपूर्ण अवसरका रूपमा रहनेछ। कार्यक्रममा ‘Youth for Nation’ को सहकार्य रहेको छ ।

सम्मेलनमा सहभागी हुन इच्छुक बेनीघाट रोराङ गाउँपालिकाका स्थायी बासिन्दा युवाहरूले आवेदन फारम भर्नुपर्नेछ । उत्कृष्ट सोच र स्पष्ट भिजन भएका सहभागीलाई प्राथमिकताका साथ छनोट गरिने जनाइएको छ । आवेदनका लागि सहभागीले आफू स्थानीय बासिन्दा भएको प्रमाणित हुने कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।

इच्छुकले वडा नं. ५ को कार्यालयमा प्रत्यक्ष वा अनलाइन माध्यममार्फत आवेदन दिन सक्नेछन् । यसका लागि WhatsApp नम्बर 9823726171 तथा इमेल benighatrorangyouthsummit@gmail.com मार्फत समेत सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।