
धादिङ । राजधानीको व्यस्त व्यापारिक केन्द्र कुलेश्वरमा फलफूलको थोक व्यवसाय गर्दै आएका नीलकण्ठ नगरपालिका–१२, धादिङका पुरुषोत्तम घिमिरे पछिल्लो समय “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने अभियन्ता” का रूपमा परिचित हुँदै गएका छन् । सामान्य कामदार अवस्थाबाट व्यवसाय सुरु गरेका घिमिरे अहिले किसानको खेतबारीदेखि उपभोक्ताको भान्सासम्मको दूरी घटाउने प्रयासमा सक्रिय छन् ।
२०६५ सालमा रोजगारीको खोजीमा काठमाडौं छिरेका घिमिरेले सुरुका पाँच वर्ष कुलेश्वरकै फलफूल पसलहरूमा काम गर्दै व्यवसायिक अनुभव बटुले । २०७० सालपछि सानो लगानीमा आफ्नै व्यवसाय सुरु गरेका उनले क्रमशः थोक फलफूल व्यापारलाई विस्तार गरे ।
कुलेश्वरको थोक बजारसँगै कलंकी क्षेत्र र धादिङबेसीको बीचबजारमा जुस हब सञ्चालन गर्दै उनले आफ्नो व्यवसायलाई विविधिकरण गरे । पछिल्लो चरणमा धादिङबेसी पुछारबजार–टारीबेसी सडकखण्डमा “मण्डली फ्रुट एन्ड भेन्जिटेबल सप्लायर्स” नामक होलसेल केन्द्र स्थापना गर्दै उनले आपूर्ति सञ्जाल अझ विस्तार गरेका छन् ।
व्यवसायको प्रारम्भिक चरणमा चीन र भारतबाट फलफूल आयात गरेर व्यापार विस्तार गरेका घिमिरे पछिल्लो समय भने स्थानीय उत्पादनमा केन्द्रित भएका छन् ।

उनका अनुसार व्यापारको उद्देश्य केवल नाफा होइन, स्थानीय किसानलाई बजारसँग जोड्नु हो ।
“बाहिरबाट ल्याएको फलफूलमा नाफा अलि बढी देखिए पनि मेरो प्राथमिकता आफ्नै देशका किसान हुन्,” घिमिरे भन्छन् ।
उनको “मण्डली फ्रुट सेन्टर” अहिले केरा, मेवा, आँपजस्ता फलफूललाई रासायनिक प्रयोग बिना पकाउने र बजारमा पठाउने केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यसले उपभोक्तामा प्राकृतिक स्वाद र स्वास्थ्यप्रतिको विश्वास बढाएको उनको दाबी छ ।
घिमिरेको व्यवसायको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको किसानसँगको प्रत्यक्ष सम्बन्ध हो । धादिङ, गोरखा, चितवन, नुवाकोट लगायत जिल्लाका किसानहरूको उत्पादन उनी स्वयं वा आफ्नो टोलीमार्फत खेतबारीमै पुगेर खरिद गर्छन् ।
“धेरै किसानलाई अझै थाहा नहुन सक्छ, तर हामी किसानको घरमै पुगेर फलफूल किन्छौँ,” उनी भन्छन्,
“थोरै होस् या धेरै—उत्पादन खेर जान नदिनु हाम्रो प्राथमिकता हो ।” उनको लक्ष्य स्पष्ट छ—विचौलियाविहीन बजार प्रणाली निर्माण गर्दै किसानलाई उचित मूल्य र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने ।

काठमाडौं र धादिङबेसी दुवै स्थानमा आफ्नै चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा ल्याएका घिमिरेले ठूलो परिमाणमा फलफूल संकलन गर्दा पनि व्यवस्थापनमा समस्या नआउने बताएका छन् । यसले किसानबाट एकैपटक धेरै उत्पादन संकलन गरेर बजारमा पुर्याउन सहज बनाएको छ ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय घिमिरे नेपाल फलफूल थोक व्यवसायी संघ, कुलेश्वर काठमाडौंका कोषाध्यक्ष हुन् । संघभित्र उनले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्ने नीतिगत पहलमा समेत भूमिका खेलिरहेका छन् ।
उनको भनाइमा, व्यवसाय केवल नाफाका लागि मात्रै होइन, समाज र उत्पादन दुवैलाई सशक्त बनाउने माध्यम हुनुपर्छ ।
पुरुषोत्तम घिमिरेको व्यवसायिक यात्रा व्यक्तिगत सफलताको कथा मात्र नभई स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयासको उदाहरण पनि हो । किसानको खेतदेखि उपभोक्ताको भान्सासम्मको आपूर्ति प्रणालीलाई सहज, प्रत्यक्ष र पारदर्शी बनाउने उनको प्रयासले निरन्तरता पाएमा नेपाली कृषि अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ ।


