
धादिङ । सरकारले नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्ने निर्णय गरेको भए पनि धादिङका निजी विद्यालयहरूले भने आजैबाट भर्ना प्रक्रिया सुरु गरेका छन् ।
प्याब्सन धादिङका सचिव एवम् एड्भान्स एकेडेमीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठ अनुसार हाल पढाइ सुरु गरिएको नभई विद्यार्थी भर्ना मात्र खुला गरिएको हो । वैशाख १६ गतेदेखि नियमित पठनपाठन सुरु हुने बताए ।
गत वर्षहरूमा वैशाख २ गतेदेखि नै भर्ना अभियान सुरु हुने गरेको थियो । तर, यस वर्ष सरकारी निर्णय ढिला आएको भन्दै निजी विद्यालयहरू अघि बढेका हुन् । सरकारी विद्यालयहरूमा भने भर्ना अभियान सुरु नहुँदा तुलनात्मक रूपमा सुनसान देखिएको छ ।
प्याब्सन र एनप्याब्सन ले सरकारको निर्णय ढिला हुँदा पाठ्यक्रम प्रभावित हुने भन्दै वैशाख २ गतेदेखि भर्ना अभियान र वैशाख १५ गतेदेखि पढाइ सुरु गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार धादिङका निजी विद्यालयहरूले भर्ना सुरु गरेका हुन् भने नियमित पढाइ वैशाख १६ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।
