धादिङ टी–२० अपडेट: आज तीन रोमाञ्चक खेल हुँदै

Avatar photo
Dhadingpost
बैशाख ६, २०८३

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटारमा जारी अन्तरपालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन महत्वपूर्ण खेलहरू हुँदैछन् । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा आज बिहानदेखि बेलुकासम्म प्रतिस्पर्धात्मक खेलहरू हुने तय भएको छ ।

आजको पहिलो खेल बिहान ७:०० बजे गजुरी गाउँपालिका र गल्छी गाउँपालिकाबीच हुनेछ । दोस्रो खेल ११:०० बजे नीलकण्ठ नगरपालिका र धुनीबेसी नगरपालिकाबीच हुँदैछ भने तेस्रो खेल दिउँसो २:०० बजे त्रिपुरासुन्दरी गाउँपालिका र सिद्धलेक गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

हालसम्मको समूहगत अवस्थालाई हेर्दा समूह ‘ए’ मा बेनीघाट रोराङ गाउँपालिकाले लगातार दुई जित निकाल्दै बलियो स्थिति बनाएको छ । सिद्धलेक गाउँपालिकाले एक खेल खेल्दा जित हात पारेको छ भने ज्वालामुखी गाउँपालिका भने दुवै खेलमा पराजित भएको छ ।

समूह ‘बी’ तर्फ गजुरी गाउँपालिकाले नीलकण्ठ नगरपालिकामाथि जित निकालेको छ भने गल्छी गाउँपालिकाले धुनीबेसी नगरपालिकालाई हराउँदै सुखद सुरुवात गरेको छ ।

आठ पालिकाको सहभागिता रहेको यस प्रतियोगिता विशालटारस्थित चन्द्रोदय विद्यालय मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताले जिल्लास्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ ।