
धादिङ । नीलकण्ठ नगरपालिका–८ कैजले र ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डली जोड्ने जिल्ला कै दोस्रो लामो झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढाइएको छ ।
नीलकण्ठ ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार, पुल निर्माणको कुल लागत करिब ३ करोड ४३ लाख रुपैयाँ अनुमान गरिएको छ । बागमती प्रदेश सरकारले यसका लागि बहुवर्षीय टेन्डर आह्वान गरेको छ ।
यस वर्षको लागि मात्रै २ करोड ४२ लाख ८९ हजार २०० रुपैयाँको टेन्डर निकालिएको छ ।
रोचक कुरा, यस पुलसँगै भविष्यमा बन्जी जम्प र रोप लाइनको समेत योजना रहेको बताइएको छ ।
यसअघि, धादिङकै गंगाजमुना गाउँपालिका–६/७ मा पर्ने अधेरी खोला र ताथली डाँडामा ४०८ मिटर लामो नेपालकै दोस्रो ठुलो झोलुङ्गे पुल संचालनमा आएको थियो। नयाँ पुल ३५० मिटर लामो बन्नेछ।
