
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले आज एक प्रेस विज्ञप्ती जारी गर्दै निजी विद्यालयहरुको शैक्षिक योगदानलाई नजरअन्दाज नगर्न आग्रह आग्रह गरेको छ ।
जिल्ला अध्यक्ष दिनेश भट्टको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना कार्यक्रम जारी रहेको बेला धादिङ जिल्लाका केही स्थानीय तहहरूले आफ्ना जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी, साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूका आप्ना सन्ततिहरुलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयहरूमा मात्र भर्ना गराउनुपर्ने आशयका सूचनाहरू सार्वजनिक गर्नु कानुन विपरित भएको उल्लेख गरिएको छ ।
यसअघि पनि यस्तै प्रकृतिका सूचनाहरूको विरुद्धमा उच्च अदालतबाट यस्ता निर्देशनहरू नगर्नु/नगराउनु भन्ने स्पष्ट आदेशसमेत जारी भइसकेकोले अदालतको आदेश बाझिने गरि त्यास्ता निर्णय गरिनु दु:खद भएको उक्त ध्यानाकर्षण सहितको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा लेखिएको छ, प्रत्येक स्थानीय तहमा सञ्चालित संस्थागत विद्यालयहरूले त्यहाँको शैक्षिक विकासमा पुरयाउँदै आएको योगदानलाई नजरअन्दाज नगर्न सम्बन्धित पक्षहरूलाई स्मरण गराउन चाहन्छौं । साथै, संस्थागत र सामुदायिक विद्यालयहरू दुवैको शैक्षिक गुणस्तरमा सुधार ल्याउन समन्वय र सहकार्यको रणनीति निर्माण गरी कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।
