
धादिङ । धादिङबेससी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीको १८ औं खेलकुद उत्सव आज एक विशेष समारोहका बीच उद्घाटन भएको छ ।
आफ्नो स्थापना काल देखि नै खेलकुदलाई प्रथामिकतामा राख्दै आएको एड्भान्स एकेडेमीले खेलकुद र नृत्यमा जिल्ला कै शानका रुपमा आफूलाई राख्न सफल भएकोमा कार्यक्रमका प्रमुख अथिति समेत रहेका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले खुसी व्यक्त गरेका छन् ।

खेल उत्सवलाई शुभकामना दिँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले आफूले साना नानीबाबुहरुलाई पछि के बन्ने भनेर सोद्धने गरेको र उनीहरुले ठुलो मान्छे बन्ने उत्तर दिने गरेको बताउँदै ठुलो मान्छे बन्ने हैन स्वभिमानी अशल नागरिक बन्छु भन्न सिकाउनु पर्ने बताएका थिए ।
कार्यक्रमका विशेष अथिति जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले विद्यालय स्तरमा खेलकुदको विकास भए मात्रै खेलाडीहरु उत्पादन गर्न सकिने बताएका छन् । स्थानीय सरकार र विद्यालयहरु अझै खेलकुदले पढाई विग्रन्छ भन्ने मानसिकतामा छन् । यो हैन खेलकुदले पढाईलाई झनै सहज बनाउँछ । विद्यालय तहमा खेलकुदको विकास हुन जरुरी रहेको बताउँदै एड्भान्स एकेडेमीले तेक्वान्दोलाई आफ्नो छुट्टै पाठ्यपुस्तक बनाएर अध्यापन गराउने गरेकोमा धन्यावाद दिएका थिए ।
कार्यक्रमका अध्यक्ष एवम् एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ले एड्भास एकेडेमीले खेलकुदमा छुट्टै परिचय बनाएको दावी गदै नृत्यमा समेत दुई-दुई पटक प्रदेश विजेता र केन्द्रिय प्रतियोगितामा एक पटक द्वितिय भएकोमा शिक्षक तथा अभिभावकहरुलाई धन्यावाद दिएका थिए ।
खेलकुदले विद्यार्थीको पढाई बिग्रन्छ भन्नेहरुलाई एड्भान्स एकेडेमीले राम्रो पाठ सिकाएको दावी गर्दै अध्यक्ष गोर्खालीले खेलकुदका माध्यामबाट एड्भान्सले शिक्षण विधिमा परिवर्तन समेत ल्याएको बताएका थिए ।
प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार प्ले ग्रुप देखि कक्षा १२ सम्मका खेलाडी विद्यार्थीहरु सहभागी हुने यस खेल उत्सवमा ३५० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।
