धादिङ उद्योग बाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन नजिकिदै छ । अधिवेशनको वर्ष भएकाले पनि संघको नेतृत्वमा जाने आँकाक्षा राखेका ब्यवसायीहरुलाई साधारणसभा तथा अधिवेशन बढी नै लागेको छ ।
चिया पसल र चोक चोकमा ब्यवसायीका उम्मेद्वार र तिनका चुनावी एजेण्डाबारे छलफल र बहस सुरु भएको छ ।
धादिङ उद्योग बाणिज्य संघमा विधानतः हालको बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले हरेक अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पदकै लागि रस्साकस्सी पर्ने गर्दछ ।
त्यसो त यो प्रावधान बनेको धेरै भएको छैन । यही प्रावधानमा टेकेर अध्यक्ष बन्ने पहिलो ब्यक्ति भने हालका बरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी नै हुनेछन् । त्यसैले धादिङ उद्योग बाणिज्य संघमा अवको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा को आउला त भन्नेमा नै चुनावी रौनक देखिएको छ ।
हालसम्म बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नेमा रोहित भण्डारी एक्ला उम्मेद्वार हुन् । हालको कार्यसमितिमा सदस्य समेत रहिसकेका धादिङका युवा ब्यवसायी भण्डारीले पुर्व अध्यक्षहरु सवैजनालाई साक्षी राखेर बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै सशक्त दावेदारी पेश गरेका छन् ।
धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा यस वर्ष उठ्छु भन्ने केही ब्यवसायीहरु समेत भण्डारीले उम्मेद्वारी घोषणा गरेपछि पछि हटेर भण्डारीलाई नै सघाउने घोषणा गर्न थालेका छन् । यसैमा पर्छन, धादिङका बरिष्ठ होटल ब्यवसायी राजाराम सिलवाल ।
सिलवालले भने, ‘म निर्वाचनमा उठ्ने मनसायमा थिए, प्रचारप्रसार पनि सुरु गरेको हुँ, तर यो पटक रोहित जी पनि अघि सर्नुभयो, उद्योग बाणिज्य क्षेत्रमा अहिले रोहितजीको जति आवश्यकता मेरो छ जस्तो नलागेर बरिष्ठ उपाध्यक्ष पदमा रोहितजीलाई सघाउने निर्णय गरेको हुँ ।’
सुस्त बनेको उद्योगी ब्यवसायीको छाता संस्थालाई चलायमान बनाउन र ब्यवसायी मैत्री बनाउन पनि रोहितजीको आवश्यकता छ भन्ने लागेकाले आफ्नो उम्मेद्वारी फिर्ता लिएर उनलाई सघाएको सिलवालले बताए ।
त्यसो त बरिष्ठ उपाध्यक्ष पदमा हालसम्म अरु कसैले पनि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् । अधिवेशन न हो, ब्यवसायीहरुको चहलपहल र माहोल हेर्दा उनी निविरोध नै निर्वाचित होलान भन्न त नसकिएला तर चुनावी माहोल र उम्मेद्वारी घोषणा सभामा पुर्वअध्यक्षहरुको सहभागीता र समर्थनले नै चुनावी नतिजा देखाएको ब्यवसायीहरुले बताएका छन् ।
एक ब्यवसायीले भने, ‘यदि निर्वाचन नै भयो भनेपनि त्यो औपचारिकता मात्रै हुनेछ । भण्डारीको उम्मेद्वारीलाई सवै पुर्व अध्यक्ष र बरिष्ठ उपाध्यक्षहरुको समर्थन रहेकाले नै जित्ने आधार बलियो मानिएको छ ।’
धादिङ उद्योग बाणिज्य संघमा १४ वर्षदेखि निरन्तर प्रत्यक्ष रुपमा संलग्न रहेका भण्डारीको सामिप्यता धादिङका हरेक उद्योगी ब्यवसायी संग छ । सवैप्रकारका ब्यवसायीहरुसंघ घनिष्ठ सम्वन्ध भएका र सवैलाई समान ब्यवहार गर्ने उनको बानीले नै मतदाता आकर्षित गर्ने चर्चा चियापसलहरुमा सुनिन्छ ।
त्यसो त धादिङका हरेक सामाजिक संघसस्थाका अधिवेशनका वर्षहरुमा राजनितिक दलहरुले अनावश्यक हस्तक्षेप गरेर निर्वाचन नै विथोलका पनि छन् । तर धादिङ उद्योग बाणिज्य संघको ११ औं अधिवेशनका सन्दर्भमा यो पटक अलि फरक परिदृश्य देखिएको छ । फरक फरक राजनितिक आस्था र विचार बोकेर धादिङ उद्योग बाणिज्य संघमा नेतृत्व गरिसकेका ब्यक्तिहरुले सामुहिक र एकैस्वरमा रोहित भण्डारीलाई बरिष्ठ उपाध्यक्ष पदमा अघि सार्नुमा उद्योगी ब्यवसायी जगतमा निर्कै अर्थपूर्ण ढङ्गले हेरिएको छ ।
भण्डारीले यो मोर्चामा विजय हाँसिल गर्लान या हार्लान त्यो त निर्वाचन पछि नै थाहा होला, तर भण्डारीको उम्मेद्वारी घोषणा पछिको माहोल र बहसले भने उनी निर्विकल्प बरिष्ठ उपाध्यक्षको उम्मेद्वार रहेछन् कि भन्ने कुरा उद्योगी ब्यवसायी माझ छाडेको छ ।
उनी निर्विकल्प होलान कि अरु कोही विकल्पमा पनि आउलान् त, त्यो भने पुसको २७ सम्म पर्खिर्नै पर्ला ।