धादिङ । यहि पौष २६ र २७ गते हुने धादिङ उद्योग बाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि रोहित भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् ।
पुर्व अध्यक्षहरु तेज बहादुर भण्डारी, ध्रुव बहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री र हालका बरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटीकाे समर्थनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेकाे बताएका छन् ।
आज धादिबेसीमा एक समाराेहका बीच उनले उम्मेदवारी घाेषणा गरेका हुन् भने पुर्व अध्यक्षहरुले साथ दिँदै भण्डारीलाई सर्वसम्मत निर्वाचित गराउन पहल गरिने बताएका छन् ।
यो पटक ११ औ अधिवेशनमा धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बनेर अर्को कार्यकाल स्वतः अध्यक्ष हुने तयारीमा जुटेका रोहित भण्डारी २०६७ सालमा कार्यालय प्रमुखको रुपमा धादिङ उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । करिव ११ बर्ष कर्मचारी भई सेवा प्रदान गरेका भण्डारी हाल धादिङ उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य रहेका छन् ।
यस अघि १० औँ अधिवेशन २०७९ चैत्र १० गते सुरुभई १४ गते सकिएको थियो । उक्त अधिवेशनले बिष्णु प्रसाद थपलियालाई अध्यक्षमा चयन गरेको थियो । उक्त समितिमा अध्यक्षसहित ७ जना नेपाली कांग्रेस निकट, वरिष्ठ उपाध्यक्षसहित ११ जना माओवादी केन्द्र निकट, ७ जना एमाले निकट, ५ जना एकीकृत समाजवादी निकट, एकजना जसपा निकट र १ जना राप्रपा निकट व्यवसायी चयन भएका थिए ।