विद्यालय खेलकुदमा लगानी खै ?

Avatar photo
Dhadingpost
सोमवार, पुस ८, २०८१

खेलकुद एक प्रकारको शारिरिक गतिबिधि हो जुन रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ हाल नेपालका विभिन्न विद्यालयहरुले खेलकुद सप्ताह सञ्चालन गर्न थालेका छन् जसले गर्दा भविष्यमा राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुग्ने देखिन्छ ।

खेलले बिद्यार्थीहरुको शिक्षण सिकाईमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले खेल अनिवार्य रहेको छ । हाल धेरै जसो बिद्यालयहरुमा खेलकुद सप्ताह सञ्चालन गरि त्यस अन्तर्गत कपर्दी, भलिबल, फुटबल, क्रिकेट, १०० र ४०० मिटर लगायतका विभिन्न दौडहरु, रिले, हाईजम्प, लङजम्प, स्पोन रेस, म्याथ रेस, म्युजिकल चेयर, ब्यालुन व्लास्ट , चम्चा गुच्चा, सियो धाँगो, चकलेट खाई लगाएतका विभिन्न खेलहरु खेलाईने गरिन्छ ।

कुनै समयमा खेलकुदमा लागेर छोराछोरीको पढाइ बिग्रिने भयो भनेर अभिभावकहरुको गुनासो हुने गर्दथ्यो तर अहिले विद्यालयमा आफ्ना नानी–बाबु भर्ना गर्नु भन्दा पहिले अभिभावकले खेलकुदको अवस्था, खेल प्रतियोगिता गर्ने पर्याप्त खुल्ला ठाँउ, सहभागिता आदिको उपलब्धीलाई हेर्ने गर्छन् । खेल खेल्दा पढाई बिग्रिन्छ कि भन्ने डर अब खेलकुद नहुदाँ छोराछोरी को पढाइ पो बिग्रिन्छन् कि भन्ने सोचमा परिवर्तन आएको छ। खेलकुदले यो वा त्यो पक्षबाट विद्यार्थीहरुको वृद्धि र विकासमा टेवा पुरयाई रहेको हुन्छ । विद्याको मन्दिरका रुपमा चिनिदैं आएका विद्यालयहरुले खेलकुदको माध्यमबाट नयाँ पहिचान दिन थालेका छन् ।

विभिन्न प्रयोगात्मक अभ्यास बाट शिक्षामा समेत सफलता हुने कुरा प्रमाणित हुदैं आएको छ भने खेलकुदले बालबालिकाहरुको मानसिक विकास, पढाईहरुमा रुची, सामाजिक नेतृत्व लिने क्षमताको वृद्धि हुँदै आएको पाइन्छ । पछिल्लो समयमा विद्यालयहरुमा खेलकुद गतिविधि उल्लेख्य मात्रामा बढाएका छन् । कतिपय विद्यालयहरुले क्रिकेट, बास्केटबल, फुटबल जस्ता लोकप्रिय खेलको आफ्नो व्यवसायिक टोली तयार गर्ने गरेका छन् ।

त्यसैले पनि अहिले अभिभावकहरुले के कुरा बुझेका छन् भने बालबालिकाहरुको सन्तुलित विकासका लागी खेलकुद अपरिहार्य छ । खेलकुदको विकासका लागि विद्यालय स्तरबाटै खेलप्रतिको रूचि बढाउन विभिन्न खेलकुद प्रतियोगिताहरू हुने गरेका छन् ।

अहिले यो समयमा विभिन्न ठाउँहरुमा खेलकुद सप्ताहको साथसाथै नियमित रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरू भएको छ । खेलको विकास गर्नसकेमा मात्रै देश विश्वसामु सहजै चिनिन सक्छ । राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित खेलले महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ । एउटा स्वास्थ्य शरीरमा मात्र स्वास्थ्य मस्तिष्क हुन्छ भन्ने भनाइ छ तसर्थ एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन भयो भने त्यो देशको राष्ट्रिय सम्पत्ति हो ।

खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । त्यसले व्यक्ति मात्रै हैन परिवार, समाज, देश स्वस्थ बन्न सक्छ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्दछ । खेलको प्रवद्र्धनका लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक छ । यसका लागि खेलकुदको अधिकार र स्वामित्व विकेन्द्रिकरण गर्न आवश्यक छ ।

तसर्थ, बिद्यालय स्तरमा सञ्चालन गरिने खेलकुद सप्ताह र राष्ट्रपति रनिङशिल्ड जस्ता कार्यक्रमहरुले राष्ट्रिय स्तरमा खेलाडीको उत्पादन र पहिचानमा महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ ।

अन्त्यमा, खेलकुद सप्ताह र राष्ट्रपति रनिङ शिल्डले खेलकुदको माध्यमबाट शैक्षिक र सामाजिक विकासलाई प्रोत्साहन गर्दछ । यी कार्यक्रमहरूले विद्यालयस्तरीय खेलकुदमा मात्र होइन, राष्ट्रिय खेलकुदको विकासमा पनि ठूलो योगदान दिन्छन् । नेपाल सरकार र स्थानीय तहहरूले यसको दायरालाई अझै व्यापक बनाउन पहल गर्नु आवश्यक छ ।

लेखक: बसौला मंगलादेवी मा।वि, नेत्रावती डबजोङ धादिङका शिक्षक हुन् ।