सल्यानटार महोत्सवको उद्घाटन प्रचण्डले गर्ने

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २८, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्याटारमा यहि मंसिर ५ देखि १५ गते सम्म संचालन हुने दोस्रो सल्यानटार महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीले आयोजना गर्ने यस महोत्सव मुल समारोह समितिका संयोजक तथा त्रिपुरासुन्दरी गाउँपालिकाका उप प्रमुख देवराज धरेलका अनुसार पूर्व प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन हुनेछ ।

ऐतिहासिक त्रिपुरासुन्दरी मन्दिरको काखमा रहेको नेपाल कै दोस्रो ठुलो टारको रुपमा चिनिएको सल्यानटारमा हुने यो महोत्सवको आकर्षण स्थानीय उत्पादनको प्रदर्शनी, स्थानीय जात जातिको भेष भुसाको प्रदर्शन, स्थानीय कला र संस्कृतिको प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहेको जनाईएको छ ।

भूगर्भ विभागको अनुशन्धानमा रहेको सल्यानटार स्थित भग्नावशेषको अवलोकन, त्रिपुरासुन्दरी मन्दिर दर्शन साथै यस पालिकाको मुख्य बजारहरु आरुघाटबजार, खहरेबजारको ‘प्रवर्धन’ गर्ने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
धादिङबेसीबाट ३२ किलोमिटरको दुरीमा रहेको सल्यानटारमा हुने यस महोत्सवमा आन्तरिक सँगै वाह्य पर्यटकलाई समेत आकर्षण गर्न सक्ने गरि व्यवस्थापनमा आयोजक जुटिरहेको छ ।

गत वर्ष सम्पन्न प्रथम सल्यानटार महोत्सवको उद्घाट कार्तिक १७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उक्त महोत्सव उद्घाटन गर्दै ओलीले आफू प्रधानमन्त्री नभई वा एमालेको सरकार नआई बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नबन्ने दावी गरेका थिए ।