फाईनल नेपालले बिहिबार बंगलादेश सँग भिड्ने

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनल बिहिबार नेपाल र बंगलादेश बीच हुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै नेपालले छैटौं पटक फाइनलमा स्थान बनाएको हो । भने भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेका हुन् । सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा पनि यी दुई टोलीले फाइनल खेलेका थिए ।

उक्त फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । नेपालले साफ च्याम्पियनसिप आयोजना गरेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ को संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँचपटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ । पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । नेपालले चार पटक भारतसँग फाइनलमा पराजय बेहोरेको थियो ।