अन्तर्राष्ट्रिय धादिङ समाजको आसन्न महाधिवेशन अवसर र चुनौतीहरू

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १८, २०८१

घरपरिवारको माया साथीभाइको सद्भाव सहयोग र समुदाय र समाजको दायित्व पन्छाउँदै बाध्यताले परदेशीएकाहरूको प्रदेशमा पनि सुखानुभूत नहुँदो भन्ने चाहिँ आफू परदेशिएपछि मात्रै थाहा पाइयो । परिवारबाट टाढा हुँदा साथीसँग छुट्दा र आफन्त सँग पर हुनुपर्दा हुने एक किसिमको बिमारी त हुँदो रहेछ नै । तैपनि परदेशमा आफ्नो देशका मान्छेहरु भेटिँदा घरकै मान्छे भेटिए जस्तो अनुभूत हुने रहेछ ।

त्यसमाथि पनि आफ्नै जिल्लाको आफ्नै गाउँ ठाउँको भेटिइँदा हर्षले विभोर भइने रहेछ । म परदेशिएको महिना दिन नपुग्दै मैले धादिङकै अनि दुई महिना नपुग्दै आफ्नै गाउँको साथी भेट्न पाएको थिए । यतिखेर म असाध्यै हर्ष विभोर भएको थिएँ । आज पनि धादिङ उसमाथि पनि नीलकण्ठ नगरपालिका कतै भेटियो कि छाती फुलेर आउँछ । धादिङ जिल्लाबाट विभिन्न देशहरूमा गई पढ्ने, श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने आदि-आदि धादिङहरूले आफ्नो कर्मथलोमा धादिङ समाज गठन गरेको थाहा पाउँदा असाध्यै खुसी लागेको थियो । तर यो खुसी जिल्लामै हुँदाको भन्दा परदेशमा आइसकेपछिको झन् दोब्बरले बढ्यो ।

म बसिरहेको देशमा पनि धादिङ समाज गठन भयो । सो कार्यक्रममा ४०० किलोमिटर टाढादेखि म उपस्थित भई सहभागी भएको थिएँ । तर कार्यक्रममा उपस्थित भइसकेपछि मात्रै यो गठनपछिको पहिलो भेटघाट अन्तरक्रिया र पिकनिक कार्यक्रम रहेछ । हार्दिकता साथ कार्यक्रममा सहभागी भइयो र आगे दिनहरूमा धादिङ समाजसँगै आफ्ना जीवनहरु बिताउने प्रणसमेत गरी सो दिनको कार्यक्रम सकेर घर फर्कियो ।

हालसम्म म बसेको देशमा जस्तै अमेरिका, अस्ट्रेलिया, क्यानडा, युएइ, कतार, फ्रान्स, नेदरल्यान्ड लगायतका देशहरु गरी १८ वटा देशहरुमा धादिङ समाज गठन भएको छ । पर्सि अक्टोबर ८ तारिख अर्थात असोज २२ गते यिनै १८ वटा देशहरूका प्रतिनिधिहरू चुनी धादिङ समाजको अन्तर्राष्ट्रिय छाता संगठन अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशनको कार्यक्रम धादिङबेसीको कृक रिसोर्टमा हुन गइरहेको सन्दर्भमा मनमा असाध्यै खुसी लागेको छ । किनभने धादिङेहरूले धादिङमै अन्तर्राष्ट्रिय अधिवेशन गर्न लागेका छन् ।

यस सन्दर्भमा संगठनको भावी रणनीति कार्ययोजना र संगठन विस्तारका विषयमा पक्कै पनि विश्लेषण सहितको प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । बाध्यताले परदेशीयकाहरूले आफ्नै जिल्लामा दशैंको बेला पारेर देश फर्किनेहरू लक्षित गरी विभिन्न देशबाट प्रतिनिधिहरु बोलाई यो कार्यक्रम गर्न लागेको र विशेषतः धादिङकै माटोमा यो कार्यक्रम आयोजना गर्नु असाध्यै सुगन्धित छ । संगठन भर्खरै-भर्खरै सुरुवात भएको हुँदा केही कमजोरीहरू यसमा अवश्य नै हुन सक्छन् । तर पनि बामे सर्दै गर्दा हुनसक्ने गल्ती कमजोरीहरुप्रति सबैले चनाखो रहेर संगठनलाई हर दिशाबाट सहयोग पुर्याउनु आजको आवश्यकता पनि हो ।

कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन पक्कै पनि प्रमुख अतिथि विशिष्ट अतिथि, अतिथिहरू कार्यक्रमका सहभागी र कार्यक्रमको मेलोमेसो सहित भावी रणनैतिक कार्यक्रमहरू प्रस्तुत हुनेछन् । सायद हलभित्रैबाट कार्यक्रम सञ्चालन हुँदै गर्दा प्रदेशमा हुनेहरु कुनै माध्यमबाट अनलाइनमा सो कार्यक्रममा सहभागी हुन पाउनेछन् । यो अर्को खुला विश्वको खुला सहभागिता हुनेछ ।

कार्यक्रममा स्थानीय क्षेत्रमा अर्थात् धादिङमा रहेर आजको समाज सिर्जना गर्न मलजल पुर्‍याउनु हुने उत्कृष्ट साहित्यकारहरू, धादिङ जिल्लालाई नै कार्यक्षेत्र बनाएर कार्यसम्पादन गर्ने पत्रकार साथीहरू, जिल्ला र भूगोल विशेषले जन्माएका विलक्षण प्रतिभाहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा खेलकुद तथा प्रतियोगितामा सहभागी भई उत्कृष्टता प्राप्त गर्नेहरू र एसइई, प्लस टु ब्याचलर र मास्टर्समा सर्वोत्कृष्टता हासिल गर्नेहरूलाई पुरस्कृत एवं सम्मान गर्दै लैजाने कार्यक्रम बनाउन सके अझै उत्कृष्ट हुनेछ ।

यसरी गरिने सम्मान तथा पुरस्कारमा केवल धादिङ जिल्लामा जन्मिएर सहभागी भएकाहरूलाई भन्दा हालसम्म धादिङ जिल्लामा नै रहेर कार्यसम्पादन गरिरहनेहरूलाई समेट्न सके सुनमा सुगन्ध हुनेछ । किनभने जिल्लामा रहेर कार्यसम्पादन गर्ने साथीहरू जिल्लामा रहेर सक्रिय भई खेल जीवन बिताउने साथीहरु लगायतलाई सम्मान गर्न सके उहाँहरूमा अझै ऊर्जा भरिनेछ साथै संगठनको मर्म र भावनाअनुरूप पनि हुनेछ ।

जिल्लाका दूरदराजमा रहेर समाज विकासमा अहोरात्र लागिरहनु हुने अग्रजहरूको सम्मान कार्यक्रम पनि त्यत्तिकै महत्वपूर्ण छ । कार्यक्रमका सन्दर्भले दुई दिन अगावै पुग्नेहरुले धादिङ जिल्लामा क्रियाशील र सञ्चालनमा रहेका मिडिया हाउसहरु मार्फत विभिन्न क्षेत्रमा कार्यसम्पादन गर्नुहुने अब्बल एवं अग्रजहरूलाई परिसंवाद कार्यक्रम गर्न सके संगठनको औचित्य पुष्टि हुने थियो । कार्यक्रममा जिल्लामा रहेर कार्यसम्पादन गरिरहनुभएका पूर्व अग्रजहरू सबैसँगको अन्तरक्रिया कार्यक्रममा यो अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाको सर्वाङ्गीण विकासमा कस्तो टेवा पुर्याउन सक्नेछ भन्ने विषयको खाका तयार गर्न सके आगामी रणनैतिक योजना भन्ने विश्वास राखेको छु । साथै आगामी दिनहरूमा यस संगठनले धादिङ जिल्लामा कुन कुन क्षेत्रमा कार्य गर्ने हो सो क्षेत्रमा कार्यरत रहनुहुनेहरुलाई श्रोत व्यक्तिको रुपमा पहिचान गरी आवश्यक सरसल्लाह र सुझाव लिई आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी खाका तयार गर्न सके अझै उत्कृष्ट हुनेछ ।

आसन्न कार्यक्रमका सन्दर्भमा जिल्लामा रहेर कार्यसम्पादन गरिरहनु हुने अग्रज एवं दिग्गजहरुले आसन्न अधिवेशनको कार्यक्रमको र समग्र भावी रणनैतिक योजनाको विषयमा घनिभूत अन्तरक्रिया गरी समालोचनात्मक टिप्पणी राखिदिनुभए अझै आभारी हुनेछौं ।

सन्दर्भ विशेषले हुन लागेको यो महाधिवेशनको कार्यक्रममा यसअघि सक्रियताका आधारले केही गराैँन भन्ने लागेर जागा युवाहरू लागेको संस्था भएकोले पनि यसमा हर हिसाबको समायोजन र सहभागिता रहेको देखिँदैन । यसअघिको कार्यसमितिमा महिलाहरू लगायत अन्य विचारहरूको यसमा उल्लेख्य सहभागिता देखिँदैन । त्यसैगरी अन्तर्राष्ट्रिय धादिङ समाजले टाढा बसेर गरेको कार्यक्रमहरू उल्लेख्य रुपमा उत्कृष्ट भएपनि समाजका सबै आयामहरु जोड्न नसकेको प्रष्ट देखिएको छ । तसर्थ यसपटकको महाधिवेशनले सबै विचारहरु, जातजाति, भाषा, धर्म संगठनहरु जोडेर साझा संगठन बनाउन यत्न गरोस् । अन्तर्राष्ट्रिय धादिङ समाजको अधिवेशनको कार्यक्रम भव्य तथा सभ्य होस् । हार्दिक शुभकामना ।