धादिङ । धादिङका गल्छी गाउँपालिका ३ का प्रियन्स आचार्य सहित ६ जना खेलाडीहरुको फुटबलको सपना अधुरै रहेको छ । असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परी उनीहरुको निधन भएको हो ।
उक्त पहिरोमा परी प्रशिक्षर्थी खेलाडीहरु दिवस बानियाँ, धादिङका प्रियन्स आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।
एन्फालेले मृतक खेलाडीहरूको पार्थिव शरीरलाई स-सम्मान अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको जनाएको छ । अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको बताइएको छ ।
आदित्य बलम्पाखीको पार्थिव शरीरलाई हेलिकप्टर मार्फत लालबन्दी १७ रानिगञ्ज सर्लाही पठाईएको छ तथा दिवंगत दिवस बानिया र प्रियन्स आचार्यको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको एन्फा उपाध्यक्ष दिपक खतिवडाले बताए ।