झ्याप्ले खोलामा ३ वटा गाडीमा ३५ शव भेटियो

Avatar photo
Dhadingpost
आइतवार, अशोज १३, २०८१

धादिङ । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएका तीन वटा बसबाट ३५ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसमा आठ जनाको शव र अर्को माइक्रोबसमा १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले बताए ।

गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज आठ जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डाै आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबाट चार जना महिला र नाै जना पुरुषको शव निकालिएको छ । यस्तै बुटवलबाट काठमाण्डाैका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । त्यो माइक्रोबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।