मौसमः ५६ जिल्ला ‘रेड जोन’मा

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १०, २०८१

काठमाडौं । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले देशभर विभिन्न ठाउँमा हल्कादेखि अति वर्षासम्म हुन सक्ने भन्दै ५६ जिल्लालाई जनधनको क्षति हुनसक्ने भन्दै रेडजोनमा राखेको छ ।

विभागले उल्लेख गरे अनुससार ‘बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि असोज १३ (आइतबार) सम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अत्याधिक वर्षाको सम्भावना रहेको छ ।

मौसम विभागको तीन दिने बुलेटिन अनुसार
असोज १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित धेरै वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

असोज ११ गते (शुक्रबार)देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जन/चट्याङ्गसहित धेरै वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।

असोज १२ गते (शनिबार) देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।