मदुकुमार श्रेष्ठ मन्त्री भएको ५१ दिन बितिसक्दा समेत पाएनन् मन्त्रालय

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २७, २०८१

धादिङ । धादिङका प्रदेश सांसद मदुकुमार श्रेष्ठ बागमती प्रदेश सरकारको मत्री भएको ५१ दिन बिति सक्दा समेत मन्त्रालय पाउन सकेका छैनन् ।

९ साउनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसँगै शपथ लिएका श्रेष्ठ आफ्नो मन्त्रालय नहुँदा मुख्यमन्त्री कार्यालयमै हाजिरी लगाएर बसेका छन् । मन्त्री नियुक्तिमा कांग्रेसमा देखिएको किचलोका कारण श्रेष्ठ जिम्मेवारीविहीनको अवस्थामा छन् ।

‘मन्त्री श्रेष्ठलाई विभागीय जिम्मेवारी दिने विषयमा सत्तासाझेदार दल एमाले र कांग्रेसका केन्द्रीय नेतासँग कुरा भइरहेको छ,’ मुख्यमन्त्री लामाले भने, ‘एमालेका नेताहरू पनि विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिने विषयमा सहमत हुनुहुन्छ । तर, नयाँ मन्त्रालय थप्ने वा भइरहेकोलाई टुक्र्याउने भन्ने विषयमा भने अन्योल छ ।’

कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले ६ मन्त्रालय लिने सहमति कांग्रेस–एमाले गठबन्धनमा भएको थियो । तर, कांग्रेसभित्रको गुट र भागबन्डाले मुख्यमन्त्री लामाले कांग्रेसको भागमा परेभन्दा थप एकजनालाई मन्त्री बनाएका थिए ।