धादिङका राजन खकुराल बेलायतमा चर्चित दश नेपालीमा छनोट

Avatar photo
Dhadingpost
सोमवार, भदौ १७, २०८१

धादिङ । नेपालब्रिटेन डट कमले वेलायतका विभिन्न क्षेत्रमा कार्यरत १० चर्चित नेपालीहरुको नाम सार्वजनिक गर्दा धादिङका राजन खकुराल पनि परेका छन् । बेलायतबाट संचालित सो अनलाइनले आफ्नो आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर आइतवार (१ सेप्टेम्बर) मा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष समेत रहेका धादिङका खकुराल बेलायतमा रहेका सहित १० चर्चित नेपालीहरुलाई ‘Media Personality Of the Year 2024’ ले सम्मान गरेको हो ।

सम्मानित हुने व्यक्तिमा जीत रानाभाट (मेयर अफ ग्रिनवीच), प्रोफेशर डा. तेजेन्द्र फेराली, समाजसेवी शेर बहादुर सुनार, कलम गुरुङ (व्यवसायी), मोहन कार्की (समाजसेवी), राजन खकुराल (युवा समाजसेवी), नारायण फुयाल (समाजसेवी मिडल्याण्ड), धन तामाङ (लाटे स्पेसलिस्ट), गोमा पौडेल (पहिलो महिला सेफ) र स्नेहा शाक्य श्रेष्ठ (युवा तथा महिला व्यारिष्टर) रहेका छन् ।

धादिङका खकुराललाई सम्मान गरिएको सार्वजनिक गर्दै उक्त अनलाइनले लेखेको छ-
राजन खकुराल– युवा समाजसेवी
धादिङ जिल्लामा स्थायी घर भएका खकुरेल बिगत १४ बर्षदेखि बेलायतलाई कार्य क्षेत्र बनाई सामाजिक कार्यमा सक्रिय छन् । खेलकुद, स्वास्थ्य, सामाजिक तथा ब्यवसायिक रुपमा युवाहरु माँझ निकै लोकप्रिय छन् । २०१५ मा नेपालमा गएको भूकम्पको समयमा बेलायतबाट निकै मेहनतका साथ औषधि, लत्ताकपडा तथा आर्थिक सहयोग जुटाएर नेपाल पठाएर चर्चामा आएका थिए । उनले स्वास्थ्य, खकुराल र युवाहरुको सहयोगको लागि आर्थिक संकलन समेत गरेका छन् । बुद्ध फाउनडेसन युकेले ट्राफलगर स्क्वरमा आयोजना गर्दै आएको बुद्ध जयन्ति उत्सवको लागि आर्थिक संयोजकको भुमिका खेले । बुद्द फाउण्डेशन यूकेको संस्थापक कोषाध्यक्ष रहेका खकुरेलको अग्रिम भूमिकामा निर्माणाधीन कपिलवस्तु बृद्दाश्रमको लागि उनको कार्यकालमा करिब ३० हजार पाउण्डको सहयोग नेपाल पठाएका थिए ।

गैरआवासीय नेपाली संघ यूकेको कार्यसमितिमा रहँदा उनले एनआरएनए यूके च्यारिटी सस्थाको रुपमा दर्ता गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । २०१८ मा एनआरएनए यूकेले गोर्खा कपमा सुरु गरेको स्वास्थ्य शिविरको पनि खकुरालले सहसंयोजकको भूमिका निर्वाह गरे भने २०१९ मा भएको गोर्खा कपमा गरेको स्वास्थ्य शिविरमा संयोजकको भूमिका निर्वाह गरे ।

कोभिड १९ को सुरुवाती कठिन समयमा साउथ इष्ट लन्डनस्थित ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ ले समुदायका समाजसेवी, स्वयंसेवी, व्यवसायी, नेपालबाट आएका भिजिटर, पत्रकार गरी करिब ५ सय जना भन्दा बढी व्यक्तिलाई खोप व्यवस्था गरेको थियो । उनले कोरानाको महामारी बखत घरबाट बाहिर निस्कन नसक्ने अशक्त ४ सय भन्दा बढी परिवारलाई करिब १५ हजार पाउन्डको निशुल्क खाद्यान्न वितरणमा संयोजनकारी भूमिका खेलेका थिए ।

उनले अन्तर्राष्ट्रिय धादिङ समाज मार्फत रकम संकलन अभियानमा ७ दिनमा करिब रु १० लाख संकलन गरी अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई अति आवश्यक स्वास्थ्य सामाग्री र खाद्यन्न वितरण गरेको थियो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्न उनले सकृयता देखाए ।

उनकै संयोजकत्वमा २०२० मा धादिङका ११८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न वितरण गरिएको थियो । उनको सहयोग अपिलमा मे २०२० मा धादिङका एन्जल तामाङको उपचार खर्चको लागि १ लाख ३१ हजार ३०६ रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरे ।

खकुरेलको संयोजनमा जुन २०२० मा धादिङका विभिन्न स्वास्थ्य केन्द्रमा डिजिटल हेल्थ क्याम्प सम्पन्न गरी, गाउँमा रहेका दीर्घरोगी, बृद्धबृद्धा, महिलामा हुने स्वास्थ्य समस्याबाट करिब ७ सय बिरामीलाई विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । कोभिडको समयमै धादिङ जिल्लामा अक्सिजन कन्सनट्रेटरको निकै अभाव भएका बेला खकुरेलको प्रमुख संयोजनमा अमेरिका, जापान, अस्ट्रेलिया र बेलायतबाट ३८ थान अक्सिजन कन्सनट्रेटर मेसिनलगायत अन्य स्वास्थ्य सामग्रीहरु जिल्लाको विभिन्न ठाउँमा उपलब्ध गराइएको थियो ।

उनले अन्तर्राष्ट्रिय धादिङ समाज मार्फत बैदेशिक रोजगारको क्रममा मृत्यु भएका तथा अलपत्र परेका अभिभावकहरुको ५३ जना बालबालिका हरुलाई निशुल्क शैक्षिक सामग्री वितरण गरे । उनको धादिङमा गाउँपालिका स्तरीय निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना सफलताका पूर्वक सम्पन्न गरेर चर्चामा आएका छन् ।