नवराज पाठकको नयाँ यात्रा, जाइकाको धादिङ कोर्डिनेटरमा नियुक्त

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १४, २०८१

धादिङ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) धादिङ जिल्ला कोर्डिनेटमा एक साता अघि मात्र शिक्षण पेशाबाट अवकाश लिएका नवराज पाठक नियुक्त भएका छन् । उनी जाइकाको आधारभूत विद्यालय शिक्षा (IBSE) को सुधार योजनाका लागि धादिङको कोर्डिनेटमा नियुक्त भएका हुन् ।

जाइकाको आधारभूत विद्यालय शिक्षा (IBSE) को सुधार योजना अन्तरगत कक्षा १-३ मा एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा गणित बिषयको सिकाई सुधारका लागि शिक्षकलाई टीपीडी तालिम, बिद्यार्थी मेन्टरीङ, SIP निर्माणमा सहयाेग लगायतका कामहरु हुने नवनियुक्त पाठकले धादिङपोष्टलाई बताए ।

गणित शिक्षा परिषदका केन्द्रीय सदस्य समेत रहेका पाठक शिक्षा तालिम केन्द्र धुलिखेल र तनहुका रोष्टर प्रशिक्षक थिए । उनी गाउँपालिकाको शिक्षा शाखामा रहेर केहि समय स्रोतव्यक्ति भएर काम गर्ने मौका पाएका थिए ।

शिक्षक तालिम, विद्यार्थी मोटीभेशन प्रोगाम गणित प्रयोगशाला निर्माण, पाठ्यपुस्तक लेखन, शैक्षिक सामग्री निर्माण तालिम, शिक्षक निर्देशिका लेखन, दुर शिक्षा केन्द्रमा श्रव्य दृश्य कक्षा शिक्षण गरेका पाठक २०५३ साल पुस २८ गते नि मा शि अस्थायी शिक्षकको रुपमा शिक्षण पेशामा प्रवेश गरेका थिए । २०६१ जेष्ठ १९ गते स्थायी शिक्षक बनेका उनी गत हप्ता मात्रै २० वर्ष १ महिना शिक्षण पेशामा व्यतित गर्दै शिक्षण पेशाबाट बाहिरिएका थिए ।