टानको निर्वाचनमा धादिङका १२ जना उम्मेद्वार

Avatar photo
नारायण सिलवाल
बिहिबार, भदौ १३, २०८१

धादिङ । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचन यहि भदौ १७ गते हुँदैछ । यस निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ । एमाले कांग्रेस नीकट पर्यटन व्यवसायी संगठनहरु मिलेर राजेन्द्र सापकोटा नेतृत्वको प्यानल खडा गरेका छन् भने अन्य पार्टी नीकट पर्यटन व्यवसायीहरु मिलेर सागर पाण्डेको नेतृत्वमा प्यानल खडा गरेका छन् ।

अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा धादिङका हुन् यो समूहबाट धादिङका विष्णुप्रसाद लम्सालले प्रथम उपाध्यक्षमा, राजेन्द्रप्रसाद सुवेदीले महासचिवमा, राजु गुरुङ, विश्व दाहाल (बी) र सुमन अर्यालले सदस्यमा उम्मेद्वारी दिएका छन्, भने अर्का अध्यक्षका प्रत्यासी सागर पाण्डेको समूहबाट धादिङका निशेष थापाले द्वितिय उपाध्यक्षमा, सजना त्रिपाठीले सचिवमा, गणेशप्रसाद न्यौपानेले कोषाध्यक्षमा, डम्बर बहादुर अधिकारीले सह-कोषाध्यक्षमा र सदस्यहरुमा शिव प्रसाद सिलवाल, माधवकुमार धमलाले उम्मद्वारी दिएका छन् ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

राजेन्द्रप्रसाद सापकोटा
अध्यक्ष पदका उम्मेदवार

सन् १९७९ मा धादिङ्मा जन्मिएका राजेन्द्रप्रसाद सापकोटा १६ वर्षको कलिलो उमेरमा रोजगारीको खोजिमा काठमाडौँ छिरेका थिए । धादिङ्गबाट काठमाण्डौ प्रवेश गर्ने बित्तिकै तत्कालीन गणेश हिमाल ट्रेकिङमा पोर्टरको रूपमा भारी बोक्ने काम पाए । एक वर्षपछि गाइड बने । नेपालका लगभग सम्पूर्ण पदयात्रामा गाइड गरेका सापकोटाले सन् २००६ बाट ट्रेकिङ व्यवसायमा हात हालेका हुन् | अहिले OUTDOOR HIMALAYAN TREKS उनको कम्पनी हो ।

विष्णुप्रसाद लम्साल
प्रथम उपाध्यक्ष
पदका उम्मेद्वार
धादिङको नीलकण्ठ नगरपालिका ज्यामरुङका विष्णुप्रसाद लम्साल नेपाल हाइकिङ एड्भेन्चरका सञ्चालक हुन् । त्यसैगरी नेपाल एभरेस्ट बेस क्याम्प ट्रेकिङ नामक अर्को कम्पनी पनि उनकै नेतृत्वमा सञ्चालनमा छ । एक दशकभन्दा बढी समय ट्रेकिङ गाइडको रूपमा काम गरेपछि ट्रेकिङ उद्यमी बनेका उनी तारकेश्वर नगरपालिकास्थित लोलाङ फ्रेन्डसीप कोलोनीको पनि अध्यक्ष छन् ।

निशेष थापा
द्वितिय उपाध्यक्ष पदका उम्मेद्वार

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ७ मा जन्मिनुभएका निशेष थापा टानको आसन्न निर्वाचन २०८१ का लागि द्वितीय उपाध्यक्षका उम्मेदवार हुन्। हिमालयन वण्डर्स एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक थापा सन् १९९९ देखि पर्यटन क्षेत्रमा छन्। हाल पदयात्रा व्यवसायसँगै होटल द एड्रेस काठमाडौं सञ्चालन गरिरहेका व्यवसायी हुन् । ठमेल पर्यटक सेवा संघको कार्यसमिति सदस्य भएर काम गरि सकेका थापा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को पूर्व महासचिव समेत हुन् ।

राजेन्द्रप्रसाद सुवेदी
महासचिव
पदका उम्मेद्वार
धादिङको नीलकण्ठ नगरपालिका ९ पाल्पा भञ्ज्याङ निवासी व्यवस्थापनमा स्नातक राजेन्द्रप्रसाद सुवेदी गणेश हिमाल पर्यटन विकास समितीको उपाध्यक्ष हुन् । सामाजिक सेवा, पत्रकारिता र खेलकुदमा रुचि राख्ने उनले यस अघि टान कार्यसमितीमा रहँदा धादिङको विशेष पर्यटकीय क्षेत्र रुवी भ्याली प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएका थिए । अमेरिका लगायत विभिन्न देशका विभिन्न विद्यालयहरुमा जलवायु परिवर्तन, सामाजिक सेवाजस्ता अन्तराष्ट्रिय तथा मानवीय टपिक्सहरुमा लेक्चर दिँदै आएका छन् ।

सजना त्रिपाठी
सचिव पदका उम्मेद्धार

हाइकिङ एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक सजना त्रिपाठी टानको आगामी निर्वाचनका लागि सचिव पदका उम्मेद्धार हुन् । नयाँ बानेश्वर, काठमाडौंमा जन्मेर धादिङमा विवाह गरेकी त्रिपाठी धादिङ जिल्लाको बुहारीकी रुपमा पर्यटन क्षेत्रमा चिनिन्छिन् । विगत एक दशकदेखि पर्यटन क्षेत्रमा रहेकी उनी टानको वर्तमान कार्यसमितिमा सदस्य पदमा रहेर काम उम्मेदवारी दिएको बताउँछिन् । टुरिजममा स्नातकोत्तर अध्ययन पुरा गरेकी त्रिपाठी अंग्रेजीसँगै स्पेनिस भाषामा दख्खल राख्छिन्। पर्यटन व्यवसायको माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि लागिरहनुभएका उहाँ विभिन्न संघसंस्थामार्फत सामाजिक सेवासमेत उनको भूमिका महत्वपूर्ण छ । उनले नेपालको पर्यटकीय गन्तव्यहरुको बारेमा सुन्दर रचनात्मक लेखेर पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउँदै छिन् ।

गणेश प्रसाद न्यौपाने 
कोषाध्यक्ष पदका उम्मेद्वार

धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका ६ बसेरीका गणेश प्रसाद न्यौपाने आसन्न टान निर्वाचनका लागि कोषाध्यक्ष पदका उम्मेदवार छन् । थर्ड आई एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक उनी विगत २३ वर्षदेखि पर्यटन क्षेत्रमा छन् । स्नातक तहसम्मको अध्ययन पुरा गरेका न्यौपानेले थर्ड आई फाउण्डेशन मार्फत दुरदराजका ग्रामिण भेगहरुमा शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरण सम्बन्धी काम गरिरहेका भने विशेषगरी आफ्नो गाउँको मानिसहरुलाई आइपर्ने विभिन्न समस्याहरुमा आर्थिक तथा भौतिक सहयोगका लागि नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । टानमा हुने फजुल खर्च नियन्त्रण, आर्थिक सुशासन र पारदर्शीताका लागि स्पष्ट खाँकासहित कोषाध्यक्ष पदमा उम्मेद्धारी दिएको भनाइ उहाँको छ ।

डम्बर बहादुर अधिकारी
सह-कोषाध्यक्ष
पदका उम्मेद्वार
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा ५ का डम्बर बहादुर अधिकारी सोही गाउँपालिकाको पूर्व वडा अध्यक्षसमेत हुन् । हाल उनी ट्रेकर्स ट्रेक नेपाल कम्पनीको प्रबन्ध निर्देशक छन् । टानको आसन्न निर्वाचनका लागि सह-कोषाध्यक्ष पदको उम्मेदवार दिएका उनीले सन् १९९७ मा हाइल्याण्डर ट्रेकिङ कम्पनीबाट पदयात्रा र पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । उनले सन् सन् २००७ मा आफ्नै एकल स्वामित्वको कम्पनी ट्रेकर्स ट्रेक नेपाल स्थापना गरेर एसिया, यूरोपियन तथा अन्य विभिन्न मुलुकका पर्यटकहरुलाई नेपालको भ्रमण गराउने काम गरि रहेका छन् । २०१५-२०१७ मा टानको कार्यसमिति सदस्य पदमा रहेर काम गरि सकेका अधिकारी फ्यूचर भिलेज नेपाल नामक संस्थामार्फत विशेषगरी धादिङ जिल्लाको विभिन्न गाउँमा शैक्षिक उन्नयनका लागिसमेत काम गरिरहेका छन् ।

राजु गुरुङ
सदस्य पदका उम्मेद्वार

कार्यसमिति सदस्यका प्रत्यासी राजु गुरूङ हिमालयन भिष्टा ट्रेकिङका सञ्चालक हुन् । उनी धादिङस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको पूर्व सभापति समेत हुन् । नीलकन्ठ नगरपालिका निवासी गुरूङ टुर तथा ट्रेकिङ गाइड हुन् उनले सगरमाथा, मनास्लु, लाङटाङ, अन्नपूर्ण, रुवी भ्याली, गोसाइँकुन्ड, तल्लो तथा उपल्लो मुस्ताङलगायत नेपालका अधिकांश बेसक्याम्पसम्म विश्वका अनेक देशका पदयात्रीहरूलाई पुऱ्याई हिमाली पर्यटनको भुइँ भुइँ पुग्न भ्याएका छ् । शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । पर्यावरण संरक्षण सहितको प्रकृति, संस्कृति र इतिहास आधारित नयाँ गन्तव्यहरूको खोजीमा उनी विशेष रूचि राख्ने गर्दछन् ।

शिव प्रसाद सिलवाल
सदस्य पदका उम्मेद्वार

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. १, कालिदह निवासी शिव प्रसाद सिलवाल एक्रस हिमालय टुर्स एण्ड ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक हुन् । उनी टानको आगामी निर्वाचनका लागि कार्यसमिति सदस्य पदको उम्मेद्धार छन् । विगत २० वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा रहेका उनी सन् २००४ देखि होटल तथा पदयात्रा व्यवसायमा आबद्ध छन् । सन् २०१० मा आफ्नै स्वामित्वको एक्रस हिमालय टुर्स एण्ड ट्रेक्स कम्पनी बाट व्यवसाय सुरुगरेका उनी हाल होटल ट्राभलर्स होलिडे इनको प्रबन्ध निर्देशक हुन् । पर्यटन प्रवर्द्धनात्मक गतिविधि अगाडि बढाउने शिलशिलामा उहाँले अहिलेसम्म एसियाका विभिन्न मुलुकहरुको ट्राभल तथा ट्रेड फेयरहरुमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका सिलवाल व्यवसायसँगै सामाजिक कार्यमा क्रियासिल छन् । उनले किवानिज क्लब अफ धादिङको अध्यक्ष भएर ग्रामिण क्षेत्रमा बालबालिकाको शिक्षा क्षेत्रको उन्नयनका लागि विशेष भूमिका खेल्दै आएका छन् ।

माधवकुमार धमला
सदस्य पदका उम्मेद्वार

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका ज्यामरुङ्ग निवासी माधवकुमार धमला सन २००० देखि पर्यटक क्षेत्रमा क्रियाशिल छन् । उनी २०१७ देखि आफ्नै स्वामित्वमा ट्रेकिङ्ग कम्पनी स्थापना गरेर सफल स्वरोजगार व्यवसायीको रुपमा परिचित छन् । गोरेटो ट्रेक्स एण्ड एक्सपिडिसन पलिका प्रवन्ध निर्देशक धमला टानको आगामी निर्वाचनको लागि कार्यसमिति सदस्य पदको उमेद्वार हुन्।  समुदाय स्तरका विभिन्न सामुदायिक कार्यहरुमा अग्रभागमा काम गर्न रुचाउने धमला दिक्षा फाउन्डेसन नेपाल, वर्ल्ड वाइड गोट प्रोजेक्ट (WWGP) USA र शंखादेवी संरक्षण समाजको जिम्वेवार पदमा कार्यरत छन् । नेपाली साहित्यमा रुची राख्ने धमलाको विभिन्न फुटकर कविता र गजलहरु प्रकाशीत भएका छन् । लामो समय पर्यटन क्षेत्रमा आर्जन गरेको शैक्षिक ज्ञान, व्यवसायीक अनुभव र समुदाय उन्मुख दृष्टिकोणलाई संस्थागतरुपमा स्थापित गर्न, साना स्वरोजगार व्यवसायीका समस्याका आवाज उठाउन, पर्यटकिय गन्तव्य स्थल र त्यहाँका आश्रीत समुदाय, भरिया मजदुर लगायतका आवाज विहिनहरुको आवाज संस्थागत रूपमा स्थापित गर्न आफुले टानको कार्यसमितिमा प्रवेष गर्नका लागि उम्मेदवारी दिएको बताउँछन् ।

विश्व दाहाल (बी)
सदस्यका प्रत्यासी

धादिङ गंगाजमुना गाउँपालिका ७ बुढाथुम निवासी विश्व दााल हाइकिङ बीज्का सञ्चालक हुन् । पोर्टर, गाइड हुँदै ट्रेकिङ एजेन्सी सुरू गरेका दाहाल इचंगु कल्याणकारी समाजसम्वद्ध व्याटम्यान्टिन क्लवको अध्यक्ष पनि हुन्। उनी ब्याडमिन्टनका साथै फुटबल र भलिबलमा पनि उत्तिकै रूचि राख्ने खेलकुदप्रेमी हुन् । ट्रेकिङकै क्रममा वीरेठाँटीमा दाइको मृत्यु भएपछि यो क्षेत्रमा नजान बुवाआमाको निकै ठूलो दबाब भए पनि उनी क्षेत्रमा छाडेनन् । पहिलो ३ वटा ट्रेकिङ त उनले परिवारले थाहा नपाउने गरि गरे । विश्वका अनेक मानिस लिएर नेपालका अधिकांश पहाडी गन्तव्य छिचोलिसकेका दाहाल आफ्नो पच्चीस बर्षे पर्यटन अनभुव पर्यटन हितकै लागि उपयोग गर्न टानको कार्यसमितिमा आउन चाहेको बताउँ छन् ।

सुमन अर्याल
सदस्यका प्रत्यासी

धादिङ ज्वालामुखी गाउँपालिका ४ ढोला निवासी सुम अर्याल ड्रिम हेभन एड्भेन्चरका सञ्चालक हुन् । दशक लामो पर्यटन अनभुव रहेका उनीले अफिस व्वाई, म्यानेजर, कम्पनी सञ्चालक हुँदै पर्यटन यात्रा तय गरेका हुन् । भ्रमण र खेलकुदमा रूचि राख्नु अर्यालल होटल एक्सेस र नेपाल इभेन्ट प्लानरमा पनि आवद्ध छन् । जापान, थाइल्यान्ड, सिंगापुर, इजरायल लगायत विश्वका विभिन्न भागमा पुगी नेपाली पर्यटनको प्रचारप्रसार गर्ने गरेका उनी व्यवसायमैत्री टानको पक्षमा छन् ।