धादिङ । धादिङ नुवाकोट र रसुवा तीन जिल्लाको संगम स्थल धार्मिक, ऐतिहासिक, भौगोलिक महत्व र सुन्दरताले भरिभराउ सिङ्ल्हा एक पटक पुग्नै पर्ने ठाउँ हो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भदौं पुर्णिामा दिन सिङ्ल्हामा प्रार्थना, नयाँ चेलाहरुलाई दिक्षान्त, बोम्पोहरु वङ्गुर ग्रहण सँगै म्हेन्दोमाया प्रतियोगिता सहित सम्पन्न भएको छ ।
सिङ्ल्हा मानेको परिचय
धादिङको खनियाबास र रुवी भ्याली, नुवाकोटको किस्पाङ र रसुवाको उत्तरगया गाउँपालिकालको सिमानामा रहेको सिङ्ल्हा माने परम्परागत रुपमा धादिङ, नुवाकोट र रसुवासम्मका खासगरी पाँचसय खोला र सातसय खोलाभरका गाउँहरुको आरध्य इष्टदेवीको रुपमा सिङल्हा रहेको बताईन्छ ।
लामो समयदेखि बोम्पो र लामाहरु हरेक वर्षको भदौ पूर्णिमाको दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ । त्यो परम्परा बोम्पोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरुलाई दिक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे । बोम्पोहरु सिङ्ल्हामा गएर वङ्गुर लिन दिन पाउनु सौभाग्य ठान्ने गर्दछन् । सिङ्ल्हा नुवाकोट धादिङ रसुवाका उत्तर तिब्बत तर्फ जाने प्राचीन राजकीय पदमार्गको केन्द्र हो ।
कसरी पुग्ने सिङ्ल्हा
काठमाण्डौको बालाजु बाइपासबाट गल्छी त्रिशुली देवीघाट बट्टार त्रिशूली सोलेबजार सातदोबाटो किस्पाङ काहुले भाल्चे गोङ्गासम्म मोटर बाटो रहेको छ । सातदोबाटो सम्म पक्कि पिच सडक ८० किमि र बाँकि ३० किस्पाङ गाउँपालिकाको बडा नं १ स्थित बाल्ची भाल्चे हुँदै गोङगा भञ्ज्याङसम्मको करिव ११० किलोमिटरक सडक यात्रा तय गर्नुपर्दछ । काठमाण्डौंबाट विहान भाल्चेको लागि नियमित बस छुट्ने गर्दछ ।
गोङगाबाट करिव साढे तीन घण्टाको उकाली जंगल भित्रको जैविक पैदलयात्रा पछि धादिङ नुवाकोट रसुवाका तामाङहरूको भेडा च्याङ्ग्रा तथा गाई गोठहरू रहेको प्राकृतिक सुन्दरताले भरिएको रुपचेत पुगिन्छ । यहाँ गोठहरूमा बास बस्ने गरिन्छ र सिङल्हा माने रहेको टाकुरोमा करिव डेढ घण्टा उकालो हिँडेपछि पुग्न सकिन्छ ।
सिङ्ल्हा मेला २०८१ का तस्वीरहरु
(तस्वीरः सुकराम तामाङ /आरम्भ तामाङ /रितु तामाङ)