धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन आगामी असोज २२ गते अर्थात अक्टोबर ८ तारिकका दिन धादिङबेसीमा हुने भएको छ । विश्वभर छरिएर रहेका धादिङ्गेहरु सहभागी हुने उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । समाजको बाह्रौं भर्चुअल बैठकले धादिङबेसीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन सम्पन्न गर्नका लागि बैठकले उपाध्यक्ष कासी दनै र सविन थपलियाको नेतृत्वमा आर्थिक समिति बनाएको प्रवक्ता भिशेष लोहनीले धादिङपोष्टलाई बताए । बैठकले महाधिवेशन प्रतिनिधिको लागि पूर्ण राष्ट्रिय समिति भएको राष्ट्रबाट १५ जना र पूर्ण राष्ट्रिय समिति नभएको राष्ट्रबाट अधिकतम ५ जना प्रतिनिधि छनोट गर्ने र प्रतिनिधि छनोटको लागि राष्ट्रिय समन्वय परिषद्को अध्यक्षलाई जिम्मेवारी दिने, साथै प्रतिनिधि शुल्क रु ५००० लाग्ने निर्णय गरेको छ । समाजको हाल सम्म १८ देशमा राष्ट्रिय समन्वय परिषद गठन भएको छ ।
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।
भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका थिए ।
अध्यक्ष राजन खकुरालले तेस्रो महाधिवेशन सफल गर्न सम्पूर्ण सम्बन्धित संघ सस्था तथा प्रतिनिधिहरुलाई अपिल समेत गरेका छन । जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको यस समाजले कोरोना संकट होस् या भूकम्पको क्षतीमा उल्लेखनिय रुपमा सहयोग गरेको थियो ।