धादिङ । अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ९६% अंक प्राप्त गर्दै बागमती प्रदेशको मात्र नभएर नेपाल कै दोस्रो उत्कृष्ट बन्न सफल धादिङ अस्पताल विषेशज्ञ सेवा प्रवाहमा पनि अब्बल बन्दै गइरहेको छ । हाल अस्पतालमा कार्यरत १० जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका ५ जना गरी कूल १५ जना विशेषज्ञ चिकित्सकहरूहरुले बालरोग, हाडजोर्नी, जनरल सर्जरी, स्त्रीरोग, एम. डी.जी.पी., इन्टरनल मेडिसिन, डेन्टल लगायतका सेवाहरू प्रदान गरिएका छन् ।
अब एकहप्ता भित्र सेवा सुरु हुने गरी स्थायी दरबन्दी करार सेवा अन्तरगत कनसल्टेन्ट साईक्याट्री र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन गरी थप २ जना विशेषज्ञ चिकित्सकहरु पनि थपिँदै छन् । अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको सङ्ख्या बढे सङ्गै सेवाग्राहीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आजकाल दैनिक करीब ५०० को संख्यामा सेवाग्राहीहरुले अस्पतालबाट सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजाल बताउँछन् ।
धादिङ अस्पतालको नि. निर्देशकमा डा.गगन अधिकारी आएसँगै अस्पतालले विशेषज्ञ सेवा प्रवाहमा तिब्रता भएको देखिन्छ । धादिङ अस्पतालको ईतिहासमा पहिलो पटक १७ जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाहको वातावरण बनाउन नि. अस्पताल निर्देशक डा.गगन अधिकारीको कुशल प्रशासनिक र व्यवस्थापकीय क्षमता तथा उनको अस्पतालप्रतिको लगाव रहेको कुरा अस्पतालका कर्मचारीहरु बताउँछन् । डा.गगन अधिकारी धादिङ अस्पतालको नि. निर्देशकको जिम्मेवारीमा आउँदा अस्पतालमा ७ जनाको हाराहारीमा विशेषज्ञ चिकित्सकहरु कार्यरत थिए । धादिङ अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढाई गुरस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्न उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग द्विपक्षीय सम्झौता गरी चालू आ.व. बाट शुरू भई आगामी ५ वर्षसम्म कार्यान्वयन हुने गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रेजिडेन्ट विशेषज्ञ चिकित्सकहरु धादिङ अस्पताल आई सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु र अस्पतालको विशेषज्ञ चिकित्सकको स्वीकृत स्थायी दरबन्दीमा करार सेवामार्फत पदपुर्ति गर्नु नै सेवा प्रवाहमा बढोत्तरीको कारण रहेको कुरा अस्पताल श्रोत बताउँछ ।
गत आ. व. २०८०/८१ मा मात्रै धादिङ अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुको सङ्ख्या १,१५,९७१ रहेको छ जुन आ. व.२०७९/८० को तुलनामा २६ प्रतिशतले बढी हो। अस्पतालले विषेशज्ञ सेवामा फड्को मारेसंगै चालु आ. व.मा अस्पतालबाट सेवा लिने सेवाग्राहीको संख्या झन बढ्ने अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजाल बताउँछन् ।
डा.गगन अधिकारी मिति २०८०/१२/०२ मा अस्पतालको नि.अस्पताल निर्देशक भएर आएपछिको ५ महिनाको अवधिमा अस्पतालमा के-के प्रगति तथा सुधार भयो त भन्ने धादिङपोष्टको प्रश्नमा प्राप्त उत्तरलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
१. अस्पतालमा हेमो डायलाइसिस सेवाको २ शिफ्टमा सञ्चालन गरिएको,
२. अस्पतालको डिजिटल रेकर्डिङ रिपोर्टिङ्गलाई थप व्यवस्थित गरी प्रयोगशाला कक्ष र ओपिडीमा डिजिटल रेकर्डिङ कार्यको शुरुवात गरिएको,
३. ५ जनाको संख्यामा रहेको विषेशज्ञ चिकित्सकको संख्या बाट १५ जना विषेशज्ञ चिकित्सक पुर्याउन विशेष पहल गरी हाल अस्पतालमा विषेशज्ञ सेवाहरु: बालरोग, हाडजोर्नी, जनरल सर्जरी, स्त्रीरोग, एम. डी.जी.पी., इन्टरनल मेडिसिन, डेन्टल लगायतका सेवाहरू प्रदान गर्ने कार्यमा कुशल व्यवस्थापन गरेको र अब १ हप्ताभित्रै मै मारोरोग विषेशज्ञ सेवा र अप्थाल्मोलोजी सेवा सुचारु गर्न विषेशज्ञ चिकित्सकको व्यवस्था गरिसकेको,
४. १५ शैयाको जनरल वार्ड निर्माण गरी फिनिसिंग कार्य शुरू गर्न लागिएको,
५. प्रयोगशाला कक्षको प्रतिक्षालयको ट्रस्ट र ओपिडीमा जस्तापाता ट्रस्ट छाना राखी सेवाग्राहीहरुलाई सेवा लिन सहज बनाईएको,
६. स्तन क्यान्सरको परीक्षण गर्न मेमोग्राम मेसिनको व्यवस्था गरी तत्काल सेवा शुरू गर्न प्रक्रिया अगाडी बढाईएको,
७. स्थानीय तहहरुसङ्ग समन्वय गरी विषेशज्ञ स्वास्थ्य शिविरहरु संचालन गरिएको (रुबिभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका-८ मा )
८. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धादिङ अस्पतालबीच द्विपक्षीय सम्झौता गरी धादिङ अस्पतालमा यस चालू आ.व. देखि अबको ५ वर्षसम्म कार्यान्वयन हुने गरी धादिङ अस्पतालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेजिडेन्ट विषेशज्ञ चिकित्सा सेवा दिने सुनिश्चितताको वातावरण बनाईएको,
९. अस्पताल परिसरमा गोबर ग्यास प्लान्ट निर्माण,
१०. अस्पतालबाट गुरस्तरीय सेवा प्रवाहको सुनिश्चितता, सेवाग्राहीहरुको गुनासोको व्यवस्थापन, विपन्न र असहाय नागरिकको निःशुल्क तथा आंशिक छुटामा उपचारको व्यवस्था, कर्मचारीहरुमा अनुशासन र चेन अफ कमाण्ड पद्धति लागू र अस्पतालको प्रशासनिक प्रक्रिया तथा व्यवस्थापकीय पक्षमा सुधारका कार्यहरू गरिएको ।