आज नाग पञ्चमी, मुल ढोकामा नागको तस्वीर टाँसिदै

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २५, २०८१

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।

परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पातालको राजा मानिन्छ, तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ । मूल ढोकामा गोबर लगाएर नागको चित्र टाँस्ने गरिन्छ । जल दुध र घिऊले सर्पलाई स्नान गराईन्छ । गहु दुबो धानको लावा दहि चामलको दुध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।