काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र नेपालका लागि जनवादी गणतन्त्र चिनका राजदुत महामहिम चेन सोङ्ग (His Excellency Chen Song) बीच शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटका क्रममा मन्त्री अधिकारीले हेलिकप्टर दुर्घटनामा परि निधनभएका एक नेपाली नागरिक सहित ४ जना चिनियां नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उक्त भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामिण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यन्वयन गर्ने दुबै पक्षबाट प्रतिवद्धता ब्यक्त भएको मन्त्री रामनाथ अधिकारीले बताए ।
यस्तै नेपालको कृषि तथा पशुपन्छीजन्य उत्पादनहरु चिनमा निर्यात, हेलेज र औषधीजन्य जडीबुटीहरु निर्यात, थर्मल प्रशोधित भैसीको मासु र सुन्तला निर्यात गर्नको लागि कानूनी प्रक्रियाहरु पुरा गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
चालु आर्थिक वर्ष २०८१/०८२ को दशकलाई “कृषिमा लगानी दशक” घोषणा गरेकाले यसलाई कार्यन्वयन गर्न ठुलो लगानीको आवश्यकता रहेकाले त्यसमा पनि आपसी समझदारीमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ । उन्नत बिउ उत्पादन र प्रबिधि हस्तान्तरणमा पनि सहयोग गर्ने बारेमा छलफल भएको छ ।आजको भेटले दुई देशबीचको कृषि क्षेत्रको विकासमा सहयोग र सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने विश्वास लिएको मन्त्री अधिकारीले धादिङपोष्टलाई बताए ।