धादिङ । ग्रीष्मकालीन ओलम्पिकको ३३ औं संस्करण पेरिस २०२४ आज साउन ११ गतेदेखि फ्रान्समा हुँदैछ । उक्त प्रतियोगितामा गोल्डेन गर्ल का रुपमा चिनिने धादिङकी चेली सन्तोषी श्रेष्ठ दौड विधामा भिड्दै छिन् ।
नेपालले ६ खेलमा ७ खेलाडी सहभागी गराउँदै छ । त्यसमध्ये एथलेटिक्सबाट सन्तोषी रहेकी छन् । उनले महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । विश्वका ९५ धाविका महिला म्याराथनमा दौडँदै छन् । २०६ राष्ट्रबाट करिब ११ हजार खेलाडीले ओलम्पिकमा भाग लिदै छन् ।
सन्तोषीको जन्म धादिङको ज्वालामुखी गाउँपालिका–६ सुनखानीमा भएको हो । काठमाडौंको विजेश्वरीस्थित गीतामाता उमाविबाट एसएलसी दिएकी सन्तोषीले त्रिभुवन विश्वविद्यालयबाट एमपीए (मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन) गरेकी छन् । आहार तथा पब्लिक हेल्थमा पोस्ट ग्य्राजुएट डिप्लोमा पनि गरेकी छन् ।
सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता खेलाडी हुन् । उनले १० हजार मिटर दौडमा उक्त सफलता पाएकी थिइन् । सागमा उनको त्यो पदक नेपाली एथलेटिक्समा महिला खेलाडीले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो । ४० भन्दा बढी स्वर्ण गलामा झुन्ड्याइसकेकी छन् । १३ औं साग खेल्नुअघि सन्तोषीले राष्ट्रिय खेलकुद, राष्ट्र्रिय च्याम्पियनसिप अनि ट्र्याक तथा रोड रेसजस्ता प्रतियोगिता गरी तीन पदक (स्वर्ण, रजत र कांस्य) ७० भन्दा बढी जितिसकेकी थिइन् ।