
हेटौंडा । ०७९ माघ ३ गते, चैत १० मा र ०८० चैत १९ गते गरी ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेल यसपटक भने सङ्कटमा छन् । केन्द्रीय सत्ता समिकरण परिवर्तन भए सँगै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको तथापी मुख्यमन्त्री जम्कट्टेलले आज चौथो पटक विश्वासको मत लिने भएका छन् ।
नयाँ समीकरण अनुसार कांग्रेस एमालेले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन् । प्रदेशसभामा कांग्रेसको ३७ र एमालेका २७ सांसद छन् । यस्तै मुख्यमन्त्री जमकट्टेलको प्रस्तावमा माओवादी केन्द्रका २१ सांसद, एकीकृत समाजवादीका ७ सांसद र नेपाली पार्टीको २ मध्ये एक सांसद रहेका छन् ।
अङ्कगणित अनुसार ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ । जुन मुख्यमन्त्री जम्कट्टेलको पक्षमा देखिँदैन । हाल मुख्यमन्त्री जम्कट्टेलसँग २९ सांसदको समर्थन छ । नयाँ सत्ता गठबन्धन कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् ।
बागमतीमा माओवादीको सत्ता यात्रा
विगत ७ वर्ष देखि माओवादी केन्द्र अवधिमा अधिकांश समय प्रदेश सरकारमा रहँदै आएको छ । यो पछिल्लो एमाले कांग्रेस सत्ता समिकरण बने सँगैै सत्ता बाहिर रहने निश्चित जस्तै भएको छ ।
- २०७४ सालमा एमालेका डोरमणि पौडेल नेतृत्वमा सरकारमा सहभागी माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र युवराज दुलाल मन्त्री बनेका थिए ।
- २०७८ कात्तिकमा माओवादी दोस्रो पटक सप्रदेश सरकारमा सहभागी भयो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वमा गठित उक्त सरकारमा माओवादीबाट हालका मुख्यमन्त्री जम्कट्टेल, धनश्याम दाहाल, रत्न प्रसाद ढकाल, विशाल खड्का, कुमारी मोक्तान मन्त्री भए ।
- २०७९ को निर्वाचन पछि तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रका शालिकराम जम्कट्टेल आफै मुख्यमन्त्री भए ।