काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।
पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो । कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भनिने गरेको बताउँछन् ।
कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको उल्लेख भएको बताइन्छ । प्राचीन कालदेखि नै नेपालमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको मान्यता छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।