धादिङका रामनाथ अधिकारी कृषि मन्त्री बने

Avatar photo
Dhadingpost
सोमवार, असार ३२, २०८१

धादिङ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट धादिङका रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्री बनेका छन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको २१ सदस्यीय मन्त्री मण्डलमा ९ नयाँ सांसदहरू रहेका छन् जसमा धादिङका अधिकारी पनि नयाँ अनुहार हुन् ।

अधिकारीले आजै पदभार ग्रहण गर्ने तयारी रहेका नेपाली कांग्रेस धादिङका सह-सचिव नवराज तिमल्सिनाले धादिङपोष्टलाई बताए ।

रामनाथ अधिकारीको संक्षिप्त राजनैतिक ईतिहास

रामनाथ अधिकारी कांग्रेस माओवादीको गठबन्धनबाट निर्वाचित धादिङका संघीय सांसद हुन् । प्रजातान्त्रिक आन्दोलनमा लाग्दा अधिकारी पटक–पटक जेल सजाय भोगिसकेका उनी कांगेस धादिङको जिल्ला सभापति हुन् । धादिङको सुनौलाबजार नेवारपानीमा २०१८ साल भदौ १८ गते जन्मिएका उनी २०३६ सालको जनमतसंग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसबाट सक्रिय रूपमा सहभागी भएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन उनी २०४५ साल वैशाख ६ गते गिरफ्तारी समेत भएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि राजनीतिमा थप सक्रिय भएका उनी आठौँ अधिवेशनमा कांग्रेस धादिङको कार्यसमिति सहसचिवमा निर्वाचित भए । त्यसपछि २०५३ सालमा नवौँ अधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी थिए उनी । तत्कालीन जिल्ला सभापति दामन पाख्रिनको २०५४ कात्तिक २६ गते निधन भएपछि जिल्ला नेतृत्वविहीन भयो । नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका अधिकारी नै थप अवधिका लागि सभापतिमा बने ।

२०५६ सालमा भएको आमनिर्वाचनमा उनले धादिङ २ नम्बर क्षेत्रबाट सांसदको टिकट पनि पाए । दुईपटकसम्म चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई हराउँदै सांसद बने । तत्कालीन अवस्थामा धादिङमा ३ निर्वाचन क्षेत्र थिए । कांग्रेस धादिङको पाँचपटकसम्म जिल्ला सभापति बनेका अधिकारीले यसअघि २०५५, २०५७, २०६२, २०६७ र ०७८ सालमा सभापति भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा धादिङ २ बाट चुनावी मैदानमा थिए । सो निर्वाचनमा उनले पराजय व्यहोरे । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले पराजय व्यहोरे । त्यसपछि २०७९ मंसिरको चुनावमा नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै संघीय सांसदमा निर्वाचित भएका थिए ।