धादिङ । धादिङको बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) बेनीघाट रोराङका प्राय: सबै विद्यालयमा पुगेको र शिक्षक/विद्यार्थीहरु सँग छलफल तथा अन्तरक्रिया गर्ने गरेको बताउँछन् ।
शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन नीति मात्रै बनाएर भएन अनुगमन मुख्य पाटो रहेछ । कक्षाकोठमा पुगे पछि बल्ल धेरै कुरा प्रष्ट हुने रैछ तसर्थ म हरेक विद्यालयका कक्षाकोठामा पुग्छु विवेक बताउँछन् ।
कक्षाकोठाको वातावरण शिक्षण–सिकाइ–क्रियाकलापको लागि अनुकूल भएको अवस्थामा बालबालिकाहरू आत्मविश्वासी भई आफ्नो कार्यमा दत्तचित्त हुन्छन् र उनीहरूमा स्वाभिमानीपूर्वक गरेर सिक्ने भावनाको विकास हुन्छ । स्वच्छ र सफा वातावरण, विद्यार्थी सङ्ख्याको आधारमा उपयुक्त आकारको कक्षाकोठा, डेक्सवेञ्च उपयुक्त रखाइ र आवश्यक सामग्रीहरूको उचित व्यवस्थापन रहेको छ कि छैन ? त्यो हेर्ने गरेको छु । अवश्यकता अनुशार विद्यालय प्रशासनलाई सुझाव सँगै चेतावनी समेत दिएर फर्कने गरेको अध्यक्ष थपलिया बताउँछन् ।
शैक्षिक सुधार गर्न शिक्षकले चासो र चिन्ता लिनुपर्ने उनी बताउँछन् । बेनीघाट रोराङमा शिक्षकले पार्टीको झण्डा बोकेर हिड्ने छैनन् । परिणाम मुखीशैक्षिक सुधारमा अगाडी बढेका छौं, शैक्षिक सुधारको पाटोलाई मुल्याङ्कन गरि यसवर्ष रावलडाँडा आधारभूत विद्यालयलाई एक लाख नगदसहित सम्मान गरिएको समेत उनले धादिङपोष्टलाई बताए ।