धादिङ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) नेल्टा धादिङको पाँचौं साधारण सभा तथा एक दिन माध्यमिक तहमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुका लागि एक दिने कार्यशाला धादिङबेसीमा सम्पन्न भएको छ ।
नेल्टा धादिङको अध्यक्ष इश्वरी पाण्डेको अध्यक्षता तथा काठमाण्डौं विश्वविद्यालयका प्रोफेसर एवम् केन्द्रिय अध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धादिङ जिल्लाका ५० जना अंग्रेजी भाषाका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पठनबोध शिक्षणका नविनतम सिपहरु आदानप्रदान गरिएको थियो । कार्यशालाका सहजकर्ता नेल्टाका केन्द्रिय अध्यक्ष प्रोफेसर डाक्टर लक्ष्मण ज्ञवालीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव राम प्रसाद अर्यात्न र स्वागत मन्तव्य उपाध्यक्ष दीपेन्द्र रिजाल को रहेको थियो ।
१९९२ मा नेपाल अंग्रेजी शिक्षक संघ (नेल्टा) को स्थापना भएपनि धादिङ शाखाको गठन भने विष्णु प्रसाद सिलवालको अध्यक्षतामा २०६३ सालमा गठन भएको थियो । धादिङमा नेल्टाका आजिवन सदस्य १०९ जना छन् ।
नेपालमा अंग्रेजी शिक्षाको औपचारिक सुरुआत १९५० तिर भएपनि यसअघि नै नेपालमा सत्रौं शताब्दीतिर नै यसको प्रयोग हुन थालीसकेको विषय विज्ञहरु बताउँछन् । सन् १८१५ को सुगौली सन्धी अंग्रेजीमा भयो र त्यसपछि १९५१ देखि दरवार हाइस्कूलबाट अंग्रेजी सिकाई सुरुभएता पनि सरकारले सन् २००० देखि व्यवहारिक रुपमा सरकारी विद्यालयहरुमा कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठन पाठन प्रारम्भ गर्ने र यसको पहुँच सवै नागरिकमा पुर्याउने कार्य गरेको पाइन्छ ।