धादिङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान सार्वजनिक हुँदै छ यस परिक्षामा धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी थिए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन सम्भव भएन र अब बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ ।
१५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी थिए । बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ । कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ ।