धादिङबाट एसईईमा ४,९११ जना सहभागी हुने

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १४, २०८०

धादिङ । भोली चैत १५ गतेबाट देशभर संचालन हुने माध्यामिक शिक्षा परिक्षा (एसईई) मा धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई धादिङका कृष्णकुमार श्रेष्ठका अनुसार यस वर्ष जिल्लामा २४ वटा परिक्षा केन्द्रबाट २०७ जना प्राविधिक तर्फबाट, ग्रेडबृद्धि तर्फबाट २१ जना र खुल्ला विद्यालयबाट ३२ जना सहित ४ हजार ९११ जना विद्यार्थीहरु धादिङबाट एसईईमा सहभागी हुने छन् ।

परिक्षा केन्द्रमा परिक्षा दिने विद्यार्थीको ससंख्या घटे संगै रुबीभ्यालीको मुक्रापदेवि परिक्षा केन्द्र र सिद्धलेकको सिद्धेश्वर परिक्षा केन्द्र यो पटक हटाईएको उनले बताए । देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् ।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् । त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।