धादिङ । काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिए धादिङको मलेखुमा खुसियाली स्वरुप दिप प्रज्वलन गरिएको छ । सन्दीपका समर्थकहरुले यसअघि न्याय पाउनु पर्छ भनेर मलेखुमा सडक प्रदर्शन समेत गरेका थिए ।
क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत १३ पुसमा कसुरदार ठहर गरेकोमा न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुसमा सजाय निर्धारण गर्दै लामिछानेलाई आठ वर्ष कैद तथा तीन लाख रुपैयाँ जरिवाना तोकेको थियो । साथै, प्रतिवादीले पीडितलाई थप दुई लाख रुपैयाँ क्षतिपूर्ति भराइदिनसमेत आदेश गरेको थियो । यसैविरुद्ध लामिछानेले उच्चमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जबर्जस्ती करणी मुद्दामा सन्दिपलाई सफाइ दिएको हो । बलात्कार मुद्दामा निर्दाेष रहेको फैसला गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई सबैखाले क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरेको छ ।
अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपको निलम्बन फुकुवा भएको र विश्वकपमा टिममा समावेश गर्ने तयारी रहेको बताए । आइसिसीको नियमअनुसार मे २५ सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । सोहीअनुसार अमेरिकामा रहेको १५ सदस्यीय टोलीबाट एक खेलाडीको नाम फिर्ता लिँदै सन्दीपको नाम पठाउने योजना क्यानको छ ।