छात्रामाथि निर्घात कुटपिट गर्ने प्रधानाध्यापक पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २२, २०८०

धादिङ । फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा छात्रामाथि निर्घात कुटपिट गर्नेप्रधानाध्यापक मोहन बगाले पक्राउ परेका छन् । उनले कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई निर्घात कुटपिट गरेका थिए ।

झापाको कमल गाउँपालिका– ५ स्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक बगालेलाई पीडित विद्यार्थीको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्टाटस थियो । त्यसमा मैले थोरै भएन र भनेर कमेन्ट गरेकी थिएँ,’ निर्जलाले भनिन्, ‘मंगलबार स्कुलको अफिसमा हेडसरले खानेपानीको नाला (पाइप)ले खुट्टामा कुट्नुभयो ।’

कुटपिटबाट बालिकाको खुट्टामा निलडाम भएको छ । कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उनलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गरिन् । ‘मलाई कुटेपछि बुबालाई बोलाएर कागजमा साइन गर्न लगाइयो । अब स्कुल नआउनू भन्नुभएको छ,’ उनले भनिन् ।

छोरीलाई कुटपिट गरेपछि तत्कालै आफूलाई विद्यालय बोलाइएको उनका बुबा नवराज बाँस्कोटाले बताए । ‘मलाई फोन आयो । पाँच मिनेटमा जसरी पनि आइपुग्नुपर्छ, अरू म जान्दिनँ भनियो । म जाँदा स्टाटसमा कमेन्ट गरेको कुरा निस्कियो,’ उनले भने, ‘एउटा कागज गरेर मलाई दायाँ–बायाँ सही र ल्याप्चे पनि हनाए । त्यो स्टाटस लेख्ने केटालाई पनि म त्यहीँ हुँदाहुँदै पाइपले तीनपटक हाने । छोरीले गलत गरेको भए कानुनी रूपमा सजाय भोग्न तयार हो । तर, यसरी कुट्न पाइँदैन । फोटो र समाचार स्रोत नयाँ पत्रिका दैनिक