धादिङबेसी खुल्लामञ्च र धुवाँकोट मानेमा आज सोनाम ल्होछार मनाईदै

Avatar photo
Dhadingpost
शनिबार, माघ २७, २०८०

धादिङ । मन्जुश्री सम्वत २८६० सोनाम ल्होछार ( डुक ल्हो) आज धुमधामसँग मनाइदै छ । तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ यस पर्व मनाउने गर्छन्। नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन् । ल्होसार शब्दको अर्थ पनि नयाँ वर्ष भन्ने हुन्छ।

धादिङमा पनि आज मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा धादिङबेसी स्थित खुल्ला मन्चमा र नीलकण्ठ १४ स्थित मानेभञ्ज्याङ धुवाँकोटमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । खुल्लामञ्चको कार्यक्रमको उद्घाटन सकेर मुख्यमन्त्री शालिकराम जम्कट्टेल धुवाँकोट जाने कार्यक्रम रहेको छ । धुवाँकोट मानेमा हुने सोनाम ल्होछारमा लामा तथा झाँक्री नाँचहरु, घोडा नाँच, चेमा नाँच, लाली नाँच देखाईने कार्यक्रम रहेको छ ।

तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरी चेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरु १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट सुरु हुने यी वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ। मन्जुश्री सम्वत २८६० सोनाम ल्होछार ( डुक ल्हो) को नयाँ वर्षको रुपमा प्रवेश गरेको छ ।