कविता: परदेशीको पीडा

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०८०

धन नै सर्वेसर्वा होइन मेरी प्यारी
जिउनको लागि संघर्ष गरेकै छु!
बर्षौं दु:ख गरेर केही नजोडेपनि
जेनतेन सबैको पेट मैले भरेकै छु ।

हुर्काइ बसेकी छौ ती प्यारा नानीहरु
रमाएका छन् तिम्रो न्यानो काखमा !
स्वस्थ र निरोगी हुनु,प्रार्थना छ मेरो
भगवानको आशीर्वाद होस् तिम्रो माथमा ।

जन्मिँदा मान्छेले के लिएर आउँछ र
के लान्छ हेर कसैले जाँदा मरेर !
हिड्नु पर्छ हेर हाँसेर सधैं जिवनमा
मर्दा काम आउँछ र सुनले भण्डार भरेर।।

समयले बनायो हेर सातसमुन्द्र टाढा
मुटुमा तिमिहरुकै बोकि माया चोखो!
नहुनु अभावमा कहिले बिचलित तिमी
बसेछु मनमा बोकेर संगै जिउने धोको ।

दलाल र भ्रस्ट,तस्कर र ठगीमा कमाई प्रिय
हिड्लान दुनिँया नौरङ्गी बनेर बिरानो ती बजारमा !
छोड्लान पैसाकै निम्ति बालबच्चा एक्लै तिनले
बेच्दाहुन छोराछोरीको माया, इमान र इज्जत हजारमा ।

त्यसैले, त्यसैले खुशी हुनु सधैं जे छ भाग्यमा भनेर
सधैंभरी हाँस्नु तिमी छोराछोरी साथमा लिएर !
सकुन्जेल हो गर्ने संघर्ष सबै मानवले जिवनमा
आउनेछ पक्कै हाम्रोपनी बाच्नेदिन संगै जिएर ।।।

एस.एन. कँडेल, ज्वालामुखी-७ रामपुर,धादिङ
हाल: खाडी मुलुक -दोहा,कतार।