धादिङ । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार (आज) मतदान हुँदै छ । यस निर्वाचनमा धादिङबाट प्रदेश ससभा सदस्य ६ जना र पालिका प्रमसुख र उप प्रमुख २६ गरी ३२ जनाले मतदान गर्ने छन् । धादिङबाट जम्मा मतभार ८१२ रहेकोछ
जसमा धादिङबाट कांग्रेसको प्रदेश ससभा सदस्य ३ मतको १५९ र १२ प्रमुख उप प्रमुखको मतभार २२८ गरी ३८७ मतभार छ । माओवादी केन्द्रको प्रदेश ससभा सदस्य १ मतको मतभार ५३ र ८ प्रमुख उप प्रमुखको मतभार १५२ गरी २०५ मतभार छ । यस्तै नेकपा एसको प्रदेश ससभा सदस्य १ मतको मतभार ५३ र ४ प्रमुख उप प्रमुखको मतभार ७६ गरी १२९ मतभार छ । त्यसैगरी नेकपा एमालेको २ प्रमुख उप प्रमुखको मतभार ३८ गरी ३८ मतभार मात्रै छ, भने राप्रपाको प्रदेश ससभा सदस्य १ मतको मतभार ५३ रहेको छ ।
२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्का एक जना मनोनीत हुने छन् ।
एमालेबाट धादिङका ध्रुव विश्वकर्मा उम्मेदवार
नेकपा एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा धादिङका ध्रुव विश्वकर्मालाई उठाएको छ । एमालेले उनलाई दलितकोटाबाट उम्मेदवार उठाएको हो ।
धादिङका ध्रुव विश्वकर्माको राजनीतिक यात्रा
धादिङबाट एमालेको उम्मेदवारको सूचीमा परेका ध्रुव विश्वकर्माले ०४८ सालमा पार्टी सदस्यता लिई राजनीतिक यात्रा सुरु गरेका थिए । अनेरास्ववियु, उजाउ धादिङको सदस्यको जिम्मेवारी पुरा गरेका उनी एमालेको उपयोग नीति अनुसार ०४३ सालमा बेनीघाट गाउँपञ्चायतको उम्मेद्वार समेत बनेका थिए । एमाले धादिङको १३ नम्बर इलाका कमिटी सदस्य हुँदै राजनीतिलाई थप तिखारिएका उनी एमालेको ७ औ र ८ औं महाधिबेशन पछि बनेको पार्टी कमिटीको निर्णयबाट एमालेको सहकारी विभागमा समेत रहेर काम गरेका थिए । २०६४ सालमा जिल्ला कमिटी सदस्य बनेका उनी हाल एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका छन् ।
बागमतीमा चार सिटका लागि १६ जना प्रतिस्पर्धामा
बागमतीमा चार सिटका लागि १६ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धका तर्फबाट महिलामा कांग्रेसकी विष्णुकुमारी पुडासैनी र अन्यमा जितजंग बस्नेत, अपांगता/अल्पसंख्यकमा माओवादीका श्रीकृष्ण अधिकारी र दलितमा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराए । एमालेबाट महिलामा रोचकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकमा विवेक देवकोटा र दलितमा ध्रुवराज विश्वकर्माको उम्मेदवारी परेको छ । त्यस्तै, राप्रपाबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकमा भरतमणि भट्ट र दलितमा पूर्णबहादुर विश्वकर्मा तथा नेमकिपाबाट महिलामा कृष्णलक्ष्मी दुवाल, अपांगता/अल्पसंख्यकमा हिमालयश्वर मुल, अन्यमा श्रीकृष्ण महर्जन र दलितमा संगीता नेपालीले उम्मेदवारी दिएका छन् । साङ्केतिक तस्वीर गोरखापत्रबाट