नवौं धादिङ महोत्सवको उद्घाटन मुख्यमन्त्रीले गर्ने

Avatar photo
नारायण सिलवाल
सोमवार, माघ ८, २०८०

धादिङ । धादिङ उद्योग वाणिज्य संघले गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारमा माघ १० गतेदेखि २१ गतेसम्म आयोजना गर्ने नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित सुरुहुने महोत्ससव उद्घाटन सुरुहुनु अघि माघ १० गते १० बजे गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भेषभूषा झल्कने गरी र्‍याली निकालिन तयारी भएको छ भने ११ बजे उद्घाटनको कार्यक्रम रहेको अध्यक्ष विष्णु थपलियाले बताए ।

२४० स्टल रहने नवौं धादिङ महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पुर्‍याउने रहेको उनले बताए । घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्‍याफ्टिङ हुनेछ भने स्थानी उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने बताईएको छ ।

कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।

गत वर्ष धादिङबेसीमा सदरमुकाममा आठौं धादिङ महोत्सव सम्पन्न भएको थियो । अध्यक्ष थपलियाका अनुसार उक्त महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादन लगायतको व्यापारबाट पाँच करोड बराबरको कारोबार भएको थियो ।