
धादिङ । बेनीघाट रोराङ गाउँपालिका १० स्थित राष्ट्रिय मावि खोरभन्ज्याङले विद्यालयमा जङ्कफुड निशेध गर्दै दिवाखाजा दैनिक फरक-फरक खुवाउँदै आएको छ । हामीले पालिका भरिका सबै विद्यालयमा जङ्कफुड निषेध गर्न भनेका छौं । जङ्कफुड निषेध सहित दैनिक दिवाखाजा फरक-फरक दिने राम्रो काम राष्ट्रिय माविले सुरु गरेको पालिकाका शिक्षा अधिकृत बोधराज पाठक बताउँछन् ।
कक्षा ५ सम्मका विद्यार्थीलाई दिईने दिवा खाजामा यस विद्यालयले बार अनुसार फरक-फरक खाजा खुवाउने गरेको छ । यस विदालयमा १८३ जना विद्यार्थी चेपाङ मात्रै भने २६ जना अभिभावक विहिन बालबालिका सहित ३३८ जना अध्ययनरत छन् ।
गाउँपालिकाले पुस १९ देखि २६ सम्म एउटा बिद्यालयको असल अभ्यास अर्को बिद्यालयमा लैजाने अभिप्रायले पहिलो चरणमा ३४ जना शिक्षकहरूलाई ७ दिनको लागि पृथक बिद्यालय खटाएको थियो। जस अन्तरगत यस विद्यालयमा एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष तिलक चेपाङ खटिएका थिए । उनले यस विद्यालयमा आफू रहँदा धेरै कुरा सिक्न र सिकाउन पाएको धादिङपोष्टलाई बताएका छन् ।