‘सहिद विश्व श्रम रोजगार बैंक’ सुरु

Avatar photo
Dhadingpost
बिहिबार, पुस १९, २०८०

बाग्लुङ । माओवादी केन्द्रबाट २ हजार २८५ मत ल्याउँदै पालिका अध्यक्ष बनेका धन बहादुर विक ‘हिमाल’ ले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सुरु गरेका छन् । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिने उद्देश्यले ‘श्रम बैंक’ सुरु गरेको बताए । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संशाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैंक सञ्चालनमा ल्याइएको पालिका अध्यक्ष ‘हिमाल’ले बताए ।

श्रम बैंकमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुरक्षा भत्ता, औषधि उपचार, मातृत्व सुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बिमा, किरिया खर्च, शैक्षिक छात्रवृत्ति, पेन्सनलगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। एक जना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरूको १० प्रतिशत सहभागितासहित वार्षिक १ लाख १५ हजार १९ रुपैयाँ खर्च गरिने जाईएको छ ।

रोजगार बैंकमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यम्का विकासका काममा लगाइने उनले बताए । चालू आर्थिक वर्षमा ३ करोड ६ लाख रुपैयाँ बजेटबराबरको योजना श्रम बैंकमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए। ‘विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैंकका जनशक्तिलाई परिचालन गर्छौं,’ उनले भने, ‘श्रम बैंक सञ्चालनका लागि कार्यविधि बनाएका छौं, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध छ ।’

मासिक १७ हजार ३ सय रुपैयाँ ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला १० हजार ८ सय २० रुपैयाँभन्दा कम दिएमा सामाजिक सुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ ।

एक महिनाको ज्याला १० हजार ८ सय २० रुपैयाँभन्दा बढी भएमा गाउँपालिकाले १० प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्नेछ । श्रम बैंकमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् ।