अन्नपूर्ण मावि खरीका विद्यार्थी पढ्दै कमाउँदै

Avatar photo
Dhadingpost
आइतवार, पुस १५, २०८०

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ५ स्थित अन्नपूर्ण माविका विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रममा व्यस्त छन् । विगत ६ वर्ष देखि विद्यालयले यो कार्यक्रम गर्दै आएको छ । यस वर्ष गाउँपालिकाले समेत २ लाख यो कार्यक्रमका लागि विद्यालयलाई सहयोग गरेको छ ।

विद्यालयका प्रधानाध्यापक बाबुआले मगरका अनुसार अहिले पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत कुखुरा पालन गरिदै आएकोमा यस वर्ष देखि च्याउ खेती समेत सुरु गरिएको छ । यस कार्यक्रमबाट खर्च कटाएर बचेको आम्दानी विद्यार्थीहरुलाई वितरण गरिने गरेको र प्रति विद्यार्थीले ८ देखि १० हजार सम्म बुझ्ने गरेको उनले बताए ।

यस कार्यक्रममा पशु विज्ञानका विद्यार्थी र कक्षा ९ र १० विद्यार्थीलाई जोडेका छौं । व्यवहारिक शैक्षिक ज्ञान र आम्दानी समेत हुने भएपछि यस कार्यक्रममा विद्यार्थी र अभिभावकहरुमा उत्साह प्रदान गरेको प्रअ आलेमगर बताउँछन् ।

विद्यालयले सिजनमा १ हजार सम्म कुखुरा पाल्ने गरेपनि अहिले चिसो मौषम भएकोले ३०० मात्रै पालेको छ भने परिक्षणको रुपमा १५ भारी परालमा च्याउ खेती सुरु गरेको छ ।