धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले धादिङबेसीमा सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । सार्वजनिक सुनुवाइ पुस १३ गते दिउँसो साढे १२ बजे जिल्ला समन्वय समितिको हलमा हुने जनाईएको छ ।
कार्यक्रममा जिल्लास्थित सबै सरकारी निकायको प्रतिनिधित्व रहनेछ। सेवाग्राहीले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षालगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउनेछन् ।
साथै नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जबाफ दिनेछन् ।
सांसद अर्यालका स्वकीय सचिव केशव रानाका अनुसार जनप्रतिनिधि सबैको साझा हुने भएकाले सो कार्यक्रममा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग हुने छैन ।