धादिङ अस्पतालका कर्मचारीहरु नृत्य, गायन र खेलकुदमा पनि अब्बल

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २७, २०८०

धादिङ । धादिङ अस्पतालकाे ४७ औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ मनाईएकाे छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालकाे अध्यक्षता, बागमती प्रदेश सरकारका माननीय मुख्यमंत्री शालिकराम जमारकटेलको प्रमुख आतिथ्यता तथा मानवीय स्वास्थ्यमन्त्री उत्तम जोशीको विशेष आतिथ्यतामा भव्य रुपमा मंगलबार वार्षिकोत्सब सम्पन्न भएको हाे । उक्त कार्यक्रममा कार्य सम्पादनमा उत्कृष्ट कर्मचारी र खेलकुद प्रतियोगिताका विजेता कर्मचारीहरुलाई प्रशंसा पत्र सहित पुरस्कृत गरिएको थियो।

उत्कृष्ट कार्य सम्पादनको हिसाबले मेडिकल अधिकृत डा. रेशम विक्रम सिजाली, ल्याब टेक्नीसियन अर्जुन भक्त श्रेष्ठ, स्टाफ नर्स रुवी श्रेष्ठ, रेडियोग्राफर मिशन रिजाल र कार्यालय सहयोगी सुस्मिता तामाङ नगरकोटी पुरस्कृत भएका थिए । त्यस्तै, अस्पतालको हाडजोर्नी सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी योगदान दिएबापत कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.दीपेन्द्र सुवेदीलाई र विगत ५ वर्षदेखि ए.आर .टी.सेवाकाे साथै प्रसुती र शल्यक्रिया शाखामा योगदान दिएवापत सरस्वती मल्ललाई र सधैं अनुशासित, शालीन, भद्र र ईमान्दारीताको साथ गुणस्तरीय सेवा प्रवाह गरेबापत वरिष्ठ फिजिओथेरापिस्ट पुष्पा अधिकारीलाई अनुशासित कर्मचारीको रूपमा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

अतिथिहरुको मन्तव्यको बीच बीचमा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त समारोहमा कर्मचारीहरुले सुन्दर नृत्य र गायन समेत प्रस्तुत गरेका थिए । वार्षिक उत्सवलाई विशेष मनोरञ्जनात्मक बनाउन अस्पतालले एलिशिवा रेशमी मगरले नेतृत्वमा सास्कृतिक कार्यक्रमको तयारी गरेको थियो । एलिशिवा रेशमी मगर, सरस्वती मल्ल, सुजिता सिलवाल लगायत अन्य स्वास्थ्यकर्मी कर्मचारीहरुले नृत्य प्रस्तुत गरी सहभागीहरुलाई मन्त्रमुग्ध पारेका थिए । पेशाले चिकित्सक भएर पनि मिठो स्वरका धनी डा. विपिन सापकोटा कार्यक्रममा सुमधुर आवाजमा गुन्जिए । त्यस्तै, पूजा गुरुङ र प्रभु सुनारको युगल गाएन पनि उस्तै मिठासपूर्ण सुनिएको थियो । अस्पतालकाे सास्कृतिक पाटोबाट अथितीहरुले मनोरञ्जन लिँदै प्रशंसा समेत गरेका थिए ।

स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ वार्षिक उत्सवको अवसरमा अस्पतालले पुरूष र महिला फुटसल, ब्याटमिन्टन, चेस, पुरूष र महिला रनिङ, टेबल टेनिस,म्युजिकल चेएर, स्वास्थ्य शिक्षा सूचना प्रतियोगिता समेत आयोजना गरेको थियो । पुरूष फुटसलमा डा.जीवन घिमिरेको टीम, महिला फुटसलमा पुष्पा अधिकारीको टीम, डबल ब्याटमिन्टनमा विष्णु प्रसाद चापागाई र डा.विक्रम सिंजाली टीम विजय भएको थियो । यसै गरी टेबल टेनिसमा डा.जीवन घिमिरे, चेसमा डा.रेशम विक्रम सिंजाली, पुरूष म्युजिकल चेएरमा मिशन रिजाल र महिला म्युजिकल चेएरमा पूजा गुरुङ, पुरूष रनिङमा तोप बहादुर लम्साल, महिला रनिङमा सुशीला श्रेष्ठ, स्वास्थ्य क्षिक्षा सुचनामा कृति श्रेष्ठले प्रथम स्थान हासिल गर्दै वार्षिक उत्सवमा पुरस्कृत भए । कार्य सम्पादनमा उत्कृष्ट मानिएर उत्कृष्ट कर्मचारी घोषित भएका डा.रेशम विक्रम सिंजाली र मिशन रिजाल खेलकुदको क्षेत्रमा समेत अब्बल देखिए ।