धादिङ घटना: कारागारबाट छुटेकै दिन वृद्धाको हत्या

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १८, २०८०

धादिङ । हत्यामा संलग्न रहेका चारजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फरक–फरक दुइ घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सार्वजनिक गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन् । त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको अभियोगमा मंसिर १५ गते ४० वर्षीय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।

‘मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राति आफ्नै घरमा उनको शव भेटिएको थियो’ एसपी मिश्रले भने ‘सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेको हो । हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली पनि पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुईजनालाई पक्राउ गरिएको हो ।’

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षिय रामचन्द्र वयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ । धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षिया श्रीमती पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेका थिए । हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताए ।

‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटी लगायत शरिरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा भेटिएको थियो । शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिन्छ’ एसपी मिश्रले भने । प्रतिवादी रामचन्द्र वयलकोटी र मृतक पवित्राविच करिव ६ वर्षअघि विवाह भएको थियो ।
विवाह पश्चात लामो समय वैदेशिक रोजगारीमा रहेका वयलकोटी दम्पत्तिविच त्यतिवेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । त्यही कारण हुन सक्ने एसपी मिश्रले बताए । अर्जुन श्रेष्ठको यो समाचार हामीले नयाँ पत्रिकाबाट साभार गरेका हौं ।