
धादिङ । धादिङबेँसीस्थित एड्भान्स एकेडेमीले शुक्रबार दोश्रो आन्तरिक परीक्षाफल प्रकाशन र विज्ञान तथा हस्तकला प्रदर्शनी आयोजना गरी सम्पन्न गरेको छ । विद्यालयले गत असोज २१ गतेदेखि २८ गतेसम्म सञ्चालित दोश्रो आन्तरिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो । त्यसैगरी कक्षा एकदेखि दश सम्मका विद्यार्थीहरूको सक्रियतामा विज्ञान प्रदर्शनी समेत सम्पन्न गरिएको छ ।
कक्षा एकदेखि दशसम्मको विज्ञान प्रदर्शनी मेलामा विद्यार्थीहरूद्वारा निर्माण गरिएका विविध विज्ञान तथा प्रविधि जन्य सामग्रीहरू प्रदर्शन गरिएको थियो । जस अन्तर्गत मिनिएचर एरोप्लेन, हाइड्रोलिक ब्रिज, हाइड्रोलिक लिफ्ट, रकेट, रोबट, ड्रोन, हाइड्रोलिक प्रेस, हाइड्रोलिक स्क्याभेटर, हाइड्रोलिक क्रेन, सोलार हिटर, मोडल अफ युरिनरी सिस्टम, पिनहोल क्यामेरा, सोलार सिस्टम, पेरिस्कोप, एनिमल सेल, प्लान्ट सेल लगायतका विक्षानका सामग्रीहरू र ढिकी, मदानी, चकटी, रुमाल, नमुना घरहरू, रोटेपिङ, हलो, झोला, टोपी, टपरी, गमला, फूल, इनार, चरा, खुकुरी, हँसियो, बञ्चरो लगायतका काठ, कपडा, माटो र कागजबाट बनाइएका हस्तकला प्रदर्शनीमा राखिएको थियो ।
विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुद अन्तर्गत विविध गतिविधिलाई प्राथमिकतामा राखेर पठनपाठन गर्ने क्रममा यसपटक भने विद्यार्थीहरूलाई व्यवहारिक सिप र ज्ञान दिने हेतुले विज्ञान तथा हस्तकला प्रदर्शनीमा सहभागि गराइएको थियो । विद्यार्थीहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेकोले विज्ञान प्रदर्शनी कार्यक्रम ज्यादै फलदायी बनेको कुरा विद्यालयका विज्ञान विभाग प्रमुख सरिता सापकोटाले धादिङपोष्टलाई बताईन् ।
धादिङ जिल्लाको सदरमुकामलाई मुख्य सेवाक्षेत्र बनाएको यस एकेडेमीले विद्यार्थीको चौतर्फी विकासका लागि हरेक वर्ष खेल उत्सव, प्रिप्राइमरी उत्सव, सडक उत्सव, बक्तृत्वकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, वाल म्यागाजिन प्रतियोगिता जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिने कुरा विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले बताए ।