थाहा हुन्न

Avatar photo
Dhadingpost
सोमवार, अशोज २२, २०८०

आजकाल सवारी चालकहरुलाई
सवारीको गति थाहा हुन्न ।
दैनिक चार पटक ओहोरदोहोर गर्ने
चालकलाई सडकको अवस्था थाहा हुन्न ।
पुल थाहा हुन्न बजार थाहा हुन्न
सडक छेउमा मान्छे उभिएको थाहा हुन्न
बाटो काटिरहेको पनि थाहा हुन्न ।
अस्पताल थाहा हुन्न, बिद्यालय थाहा हुन्न
सडक साघुरो छ भन्ने थाहा हुन्न ।
एक तर्फीमात्र गाडी चलेको थाहा हुन्न ।
भिर पैरो थाहा हुन्न, त्रीशुलीको गहिराई थाहा हुन्न ।
चोक चोकमा झुन्डिएको सिसि क्यामरा थाहा हुन्न ।
सिसि क्यामरा झुण्ड्याउने ठेकेदारले
किन झुङ्यायो भन्ने कुरा टिभी हेर्ने
कार्यालयको हाकिमलाई पनि थाहा हुन्न ।
चालकले गाडी किन हुइक्यायो भन्ने कुरा
रसिद काट्ने प्रहरीको ठेकेदारलाई थाहा हुन्न ।
राजस्व उठाउने लक्ष्य पूरा गराउने निकायलाई
सडकमा मान्छे किन मारियो भन्ने थाहा हुन्न ।
देशको चिन्ता बोक्ने जुनै नागरिकलाई
मैले पनि नियम पालना गर्नु पर्छ
भन्ने कुरा थाहा हुन्न ।
सिकाउनु भन्दा पहिला आफैले सिक्नु पर्छ
भन्ने कुरा सिकाउनेलाई नै थाहा हुन्न ।
थाहै नपाई बिज्ञ बन्ने संस्कारले
सिक्नेको जीवन बर्बाद बनेको
नबिग्रे नभत्के सम्म थाहा हुन्न ।