धादिङको कालो दह पर्यटकीय गन्तव्य बन्दै

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३०, २०८०
कालो दहमा नेपालको झण्डा फहराउँदै मनिश तामाङ र विशाल तामाङ

कालो दहमा नेपालको झण्डा फहराउँदै मनिश तामाङ र विशाल तामाङ

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका मनोरम पर्यटकीय गन्तव्यहरुले भरिएको ठाउँ हो । दर्जनौ पर्यटकीय स्थल मध्ये स्वर्गको एउटा टुक्रा जस्तै लाग्ने प्रकृतिप्रेमीका लागि एउटा एकदमै सुन्दर गन्तव्य स्थल हो कालोदह ।

आज हामी यहि कालो दहको विषयमा केहि खोज गर्दै छौं । तथापी त्यस अघि एक तितो सत्य कोट्याउन चाहान्छौ । धादिङका पालिकाहरुले वार्षिक १५ लाख सम्म भ्रमणमा खर्च गरेको उनीहरुकै वजेटमा देखिन्छ । तथापी ति पालिकाहरुले कहिल्यै पनि धादिङमै रहेको स्वर्गको टुक्रा रुबीभ्याली भ्रमणको योजना बनाएको देखिँदैन ।

प्राकृतिक सुन्दरताले भरिएको रुबीभ्याली सबै घुम्न त महिनौ लाग्ला तर निश्चि ठाउँहरु प्याकेज नै बनाएर जिल्लाका पालिकाहरुले अवलोकन गरे भने आफ्नो जिल्ला त्यसमा पनि रुबीभ्यालीको प्रवद्र्धमा ठुलो टेवा पुग्ने थियो ।

चर्चा कालो दहको
कालो दह एउटा प्राकृतिक पोखरी हो, जसको आफ्नै छुट्टै धार्मिक र प्राकृतिक महत्व रहेको छ । रुबिभ्यालि गाउँ पालिकाको वार्ड न। ४ हिन्दुङ गाउँबाट एक दिनको पैदल यात्रा पस्चात पुग्ने र गणेश हिमालको ठीक तलतिर रहेको कालो र सेतो नामक दुई दहहरु रहेका छन । यि दुई दहहरु नाम अनुसार कै रङ का देखिन्छन । यि दुई दह वरिपरि ज्यादै ठुलो चरन छ । अचम्मको विशेषता के छ भने कालो दहको माथिबाट कुनै चराचुरुङि या यान्त्र्तिक उडानहरु उडेमा सिधै उक्त दहमा खस्छ्न भन्ने मान्यता पाइन्छ । साथै यि दुई दहहरुलाई सफासुग्घर गर्ने एउटा फिस्टे नामक चरा पनि छ र कुनैपनि पातपतिङ्गरका फोहोर खसेमा टिपेर बाहिर फाल्छ भन्ने कुरा स्थानिय गाउँलेहरू बताउँछन ।

धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ मा पर्ने यस कालो दह समुन्द्री सतह देखि ४१०० मिटर उचाईमा रहेको छ । कालो दह धार्मिक तथा पर्यटकिय दृश्टिकोणले अति नै महत्वपुर्ण मानिन्छ । रुबिभ्यालिको कालो दह, सेतो दह र सिङ्ल्हा धार्मिकस्थलमा हरेक वर्ष बोन्बो अर्थात झाक्रीसंग लामा सहित हजारौं भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन ।

कालो दह यात्राका क्रममा नजिकै मुस्कुराईरहेका गणेश र पाविल हिमालसंग सामिप्य हुंदै प्राकृतिक सुन्दरताका मनोरम दृष्य अवलोकन गर्दै, उकालो चढ्दै अघि बढ्नु पर्दछ । यात्राका क्रममा ठाउँ ठाउँमा भेटिने भेडीगोठले गाउँबस्तीको न्यास्रो मेटाईदिन्छ । यात्राका क्रममा भेटिने हरियो जंगल, सिमसिम पानी, मसिनो हावाको गतिसँगै लेक चढिरहेका बादल हेरेर आनन्दित बनाउने गर्दछ ।

कसरी पुग्ने कालो दह
धादिङको गल्छी हुँदै त्रिशूली निस्किएर रसुवाको स्याफ्रुबेसीबाट सोमदाङ हुँदै पान्साङ पास भएर तिप्लिङ सम्म सवारीमा पुग्न सकिन्छ । धादिङको सदरमुकाम निस्किएर जाने हो भने साङकोष तिप्लिङ सडक खण्डबाट सेर्तुङ सम्म हिउँदमा मोटर यात्रा गरि त्यसपछि एक दिनको पैदल यात्रा गरेर लिङ्जो पुग्न सकिन्छ । सदरमुकाम धादिङबेसीबाट ३९ किलोमिटर यात्रा पछि रुवीभ्याली गाउँपालिका पुगिन्छ । सडक सञ्जालले छोएपनि यस गाउँपालिकाको सबै वडामा सहजै मोटर यात्रा गर्न अझै असम्भव रहेको छ ।