देवीदेवताका थान नै गरिबको ‘न्यायालय’

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २१, २०८०

अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन्, गरिबको न्यायालय त देवीदेवताका थान हुन् । यो भनाइ रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्कीको हो । उनले थपे, ‘बिना पैसामै जतिबेला पनि भाकल र वर माग्न सकिने गाउँघरकै देवीदेवताका थान हामी जस्ताका लागि न्यायालय हुन् ।’

गाउँमा केही घटना होस् वा वादविवाद, जे जस्ता विवाद निम्तिए पनि गाउँकै देवीदेवताका मठमन्दिरकै थानका घण्टमा कसम खाएर छोएपछि सत्य त्यहीबाट आउँछ भन्ने जनविश्वास यहाँ रही आएको छ । गोरे सार्की मात्र हैनन् यहाँका ग्रामीण क्षेत्रका नागरिक अझै पनि देवीदेवताकै विश्वास मान्दै आएका छन् । सोही गाउँकै नन्दाराम तिमिल्सेना भन्छन्, ‘मुद्दा मामिला भनेको त हुने खानेका लागि मात्र रहेछ । हामी जस्ता निमुखाका लागि न्यायालय छैनन् । पैसा जसले पेल्यो, उसैका लागि न्याय छ यो देशमा । गाउँका सोझासाझा मान्छेका लागि त यिनै देवीदेवता छन् ।’

न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थान (मन्दिर) पुग्ने गरेको सामाजिक अगुवा दीपक तिमिल्सेना बताउँछन् । गाउँमा हुने सानातिना चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन यहाँ सामान्य रहिआएको छ ।

स्थानीयले देवीदेवताको मन्दिरमा भाकल गर्न नयाँ कपडा लगाउने गरेका छन् । ‘बरु दसैं तिहारमा नयाँ लुगा लगाउने चलन छैन,’ बडिमालिका माईका पुजारी कृष्णप्रसाद धमलाले भने, ‘देवीदेवताको पैठमा नयाँ लुगा लगाउनुपर्र्नेे चलन रहिआएको छ ।’

देवीदेवताप्रति बढी विश्वास विपन्न र आर्थिकरूपमा कमजोर व्यक्तिको छ । ‘अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन््,’ मान्म–४ ताडीका धामी भाने विश्वकर्माले भने, ‘कानुन नजान्नेका सहारा देवता हुन् ।’ उनले ढिलो भए पनि देवताले न्याय दिने विश्वास आफूमा रहेको बताए । उनका घरमा पैठका बेला मात्र नभएर सधैजसो धामी हेराउनेको भीड लाग्छ । बिरामी परे अस्पतालभन्दा पहिले धामीकहाँ पुग्ने चलनसमेत ग्रामीण क्षेत्रमा छ ।

धर्म, संस्कृतिअनुसार सन्तानका लागि भाकल गर्ने, विवाह ब्रतबन्ध, लगन र साइतजस्ता कामका लागि पनि ग्रामीण बस्तीमा देवता गुहार्ने चलन रहेको जिल्ला बारका अध्यक्ष दमनराज बमले बताए । ‘धार्मिक आस्था महŒवपूर्ण हुने रहेछ,’ उनले भने, ‘देवीदेवताको डरले यहाँका बासिन्दा अपराध गर्न हिच्किचाउँछन् ।’

परम्परादेखि पुजिँदै आएका मस्टो, धवलपुरो, कालाशिल्लो, कैलाश, महादेव, नैनेल, महाबै जगन्नाथ, खापरलगायत मन्दिरका धामीले अन्याय परेकालाई न्याय दिने जनविश्वास यहाँ रही आएको छ । देवताका धामीले झैझगडा, जारी, चोरी, जग्गा, जमिन, साँध सिमाना, अंशबन्डा जस्ता मुद्दाको फैसला माडु (थान)बाटै गर्ने चलन रहेको वरिष्ठ अधिवक्ता तुलाराज विष्टले बताए । ‘सानातिना मुद्दा देवताका धामीले नै मिलाउँछन््,’ उनी भन्छन््, ‘अदालतमा पुगेका मुद्दामा समेत देवता पुकारेर मिलापत्र हुने गरेका छन् ।’ उनले अदालतमा झुट बोले पनि देवताको मन्दिरमा सत्य बोल्ने भएकाले बढी विश्वास भएको जनाए ।

जिल्लाका विभिन्न स्थानमा जेठ पूर्णिमा, साउने पञ्चमी, जनैपूर्णिमा, अनन्ते पूर्णिमा, कोजाग्रत पूर्णिमा र मंसिर पूर्णिमामा मेला लाग्ने गरेको छ । मेलामा आफन्त भेटघाट गर्ने, धामी पर्तुने (नाच्ने), देउडा खेल्ने चलन रहेको रास्कोट–५, का धामी कालीबहादुर बमले सुनाए । उनका अनुसार देवताको पैठ (पूजा गर्ने दिन) धामीझाँक्रीले सेतो लुगा लगाउने र अन्यले नयाँ कपडा लगाएर पैठ हेर्न जाने चलन छ ।

जिल्लाका वासिन्दाले दसैं तिहारभन्दा पनि देवीदेवताको पैठलाई बढी महŒव दिने चलन रहेको स्थानीय भरतबहादुर शाहीले बताए । उनले देवताको पूजा गर्ने बेला कमाइका लागि भारत गएकाहरू गाउँ फर्किने गरेको बताए । प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका दिन स्थानीयबासी बडिमालिका, चुलिमालिका, पुगमालिका, महाबुंअ, गरुडस्नानी, पूजामालिकालगायत देवीदेवताका मन्दिरमा पूजाआजाका लागि जाने गरेका छन् ।

जिल्लामा ‘मुखाला (बाठाटाठा)को राजा (सरकार) र निमुखा (लाटासोझा)को देवता’ भन्ने भनाइ लामो समयदेखि चलिआएको छ । धर्मसंस्कृति र परम्पराको नाममा केहीले सोझा जनतालाई ठग्ने गरेको सामाजिक अगुवा वीर तिरुवाले बताए । ‘सामाजिक परम्पराको नाममा सोझासाझालाई ठग्ने काम भइरहेको छ,’ उनले भने, ‘पुस्तौंदेखि चलिआएका असल चलनलाई कायम राखेर अन्धविश्वास हटाउनुपर्छ ।’

उनले चरित्र सुधार्न नैतिक शिक्षाको खाँचो रहेको बताउँदै दलितलाई अझै पनि कतिपय देवताका मन्दिरमा विभेद हुने गरेको सुनाए ।

देवीदेवताका शक्तिले केही धामीले रोटी पाकिरहेको तेल पिउनु, फलामे त्रिशूल औंलाको भरमा भाँच्नु, बलेको आगोमा घन्टौंसम्म खाली खुट्टा पर्तुन (नाच्न) सक्नुले देवताप्रति सर्वसाधारणको विश्वास कायमै रहेको खाडाचक्र–२, थामकोटका धामी करवीरे विश्वकर्माले बताए । जिल्ला अदालतमा परेका न्यून मुद्दाले पनि अदालती न्यायभन्दा देवीदेवतामा बढी विश्वास हुने गरेको कानुन व्यवसायी अमलराज शाहीको बुझाइ छ ।

कालिकोट जिल्ला अदालतको मुद्दा फाँटका कपिलकुमार कार्कीका अनुसार गत वर्ष जिम्मेवारी सरेर आएका सय र चालू आर्थिक वर्षमा दर्ता भएका २१ थान मुद्दा अदालतमा छन् । अदालतमा सबैभन्दा बढी लेनदेनका ७ थान मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीले कानुनी साक्षरता र शिक्षाको कमीले न्यायालयभन्दा देवीदेवतामा बढी विश्वास हुने गरेको बताए । ‘जन्मेदेखि नै देवीदेवताको विश्वास हुँदै आएको समाजमा देवताको बढी विश्वास मान्नु स्वाभाविकै हो,’ उनले भने, ‘कानुनी प्रक्रिया लामो र केही झन्झिटिलो मानेर पनि मठमन्दिरमा जाने गरेका हुन सक्छन् ।’ उनले पीडितलाई न्याय दिलाइएको दाबी गरे ।

कालिकोट मस्टो देवताको आधार इलाका नै हो । यहाँ १२ भाइ मस्टाका मन्दिरहरू गाउँ–गाउँमा छन्् । प्रायः मानिसहरू बिरामी पर्दा, अन्याय पर्दा, कसैले विभेद गर्दा पहिले देउता कहाँ जान्छन्् । त्यसपछि अस्पताल, प्रहरी प्रशासन र न्यायालय जाने गर्छन् । परिवारको राम्रो कामका लागि होस्् वा शुभ कार्यका लागि देवताको आशीर्वाद लिने गरिन्छ । देवतालाई यहाँका लागि पहिलो अस्पताल, पहिलो न्यायालय, पहिलो अभिभावकका रूपमा पुकारिन्छ ।

यहाँ मस्टो धलपुरो, दाडे मस्टो, कामल्या मस्टो, सिमस्टो, खोदाई मस्टो, बज्यू मस्टो, कालासिल्लो, रमाल मस्टोलगायतका १२ वटा मस्टो देवताहरू छन् । वर्षभरिमा माघ पूर्णिमा, जेठ पूर्णिमा, साउन पूर्णिमा र दसैंको समयमा जुहारे पैठ गरी चारपटक भव्य पाठ पूजा गरिन्छ । पूजाका अवसरमा भव्य मेलाहरू लाग्छन्् । पैठमा गएर स्वच्छ मनले गरेको भाकल पूरा हुने धार्मिक विश्वास अहिले पनि कायमै छ । गाउँमा अन्यायमा परेकाहरूले देउताको भाकल गर्दा न्याय पाउने पनि विश्वास छ । देउता पुकारे कसैले पनि अन्याय गर्दैन भन्ने विश्वास छ ।

जिल्लाको ग्रामीण समुदायका नागरिकका स्थानीय देवीदेवता नै न्यायधीश हुने गरेका छन् । कानुनको पहुँचमा सहजै नपुग्ने स्थानीय विपन्न नागरिकका लागि न्याय दिने माध्यम नै देउता हुन् । स्थानीय नागरिक जग्गासम्बन्धी विवाद, आर्थिक लेनदेन, चोरी ठगीका घटना, बिरामी पर्दा तथा घरायसी झैझगडामा देउताका धामीलाई बसालेर न्याय माग्ने गर्छन् । देउताका झाँक्रीले दिएको आदेश सबैले मान्छन्् पनि । पचालझरना–८ स्थित बज्युका धामी नयरूप संज्यालले भने, ‘मानिसहरू आफ्ना हरेक समस्यामा आफूहरूलाई सम्झिन्छन्् । हामी अवस्थाअनुसार उनीहरूलाई सल्लाह सुझाव दिन्छौं । रोग लागेर बिरामी परेको मान्छे हामीहरूसँग आएमा अस्पताल जाने सुझाव दिन्छौं ।’

पछिल्लो समय धामीहरूले पनि बिरामी हेर्दा अस्पताल लैजा भनेर बाटो सिकाउँछन्् । पहिले झारफुक गराउने धामीले नै अहिले अस्पताल लानभन्दा नागरिक बिरामी हुँदा अस्पताल जान उत्साही हुन्छन्् । यसले स्वास्थ्य सेवामा पनि नागरिकको विश्वास बढाउन सहयोग पुगेको छ ।

देवीदेउताको पूजाले दुःखी बिरामी निको हुने, भूत लागेको छोड्ने, पारिवारिक सुखशान्तिका साथै खेतमा राम्रो बाली पनि हुने विश्वास रहेको खाँडाचक्र नगरपालिका–३ का मस्टो धलपुराका गुठियार धनप्रसाद पाण्डेले बताए । उनले भने, ‘पहिलेको तुलनामा अहिले देवीदेवताप्रति मानिसको लगाव घट्दै गएको छ । तर, विश्वासमा कमी छैन । पहिले पहिले सुरुमा पाकेको बाली र सुरुमा फलेको फल र कुनै नयाँ कामको सुरुवात गर्दा देवीदेवताको भरोसामा गरिन्थ्यो ।’

मस्टो धलपुराको मन्दिर जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडीको डाँडामा छ । हरेक वर्ष साउन पूर्णिमाको चतुर्दशीका दिन रतेडी र पञ्चमीका दिन दिउँसेडी गरेर धामी काँप्ने, पाठ पूजा गर्ने, देउडा खेल्नेगरी भव्यरूपमा मेला लाग्ने गरेको छ । पाण्डेले भने, ‘मस्टो धलपुरो खसानका मूल देवता हो, खस आर्यहरू जहाँ भए पनि मस्टो धलपुरो नमान्ने कोही छैनन् । मस्टो देवता खसको पुर्ख्यौली कुलदेवता पनि हो । खसको परम्परा नै मस्टो धलपुरो देवतासँग जोडिएको छ । कर्णाली खस राज्य भएकाले कर्णालीमा मस्टो देवता प्रायः सबैले मान्ने गरेका छन्् । मस्टो धलपुरो पूजाको समयमा एकादशीका दिनदेखि ब्रत बसेर स्वच्छ मनले जे माग्यो त्यही पाइन्छ । जे सोच्यो त्यही पुग्छ ।’

देवीदेवताको विश्वासले नै हरेक देवताको पैठमा खुटो धजा, पूmल चामल लिएर मानिसहरू पूजामा सहभागी हुन्छन् । बाजेका पालादेखि मानिआएको हाम्रो संस्कृति र परम्पराको निरन्तरता दिन र कुल नबिग्रियोस् भनेर देवी देवताको पूजा गर्ने गरिएको स्थानीय वीरबल बुढाले बताए ।

साउन पूर्णिमाको दिनदेखि नै जिल्लाका ९ वटै पालिकामा रहेका मस्टो देवताका थानहरूमा मेला लागेका छन् । जिल्लाबाहिर बसोबास गर्दै आएका नागरिक पनि कुल देवता पुज्नका लागि गाउँ फर्किएका छन् । देवताको पैठलाई आफन्तको भेटघाट र परिवारको सफलतासँग पनि जोड्ने गरिएको छ । राजधानी दैनिकबाट