थाक्रेमा ३० रोपनी जग्गामा च्याउखेती, १ करोड लगानी

Avatar photo
Dhadingpost
आइतवार, भदौ १७, २०८०

धादिङ । पाँच वर्ष वैदेशिक रोजगारीबाट फर्केर विनोद पौडेलले च्याउखेतीमा १ करोड लगानी गरेका छन् । च्याउखती गर्नुपूर्व युएईमा कन्सल्टेन्सी म्यासेन्जरको काम गरेका पौडेलको कमाइ त्यति बेला राम्रै थियो । तर, उनलाई अर्काले दिएको रोजगारीभन्दा पनि नेपालमै केही गर्छु भन्ने सोचाइको साथ परिवारमा सल्लाहमा नेपाल फर्केका थिए ।

त्यसमा पनि च्याउखेतीको योजनामा परिवार सहमत नहुँदा पनि उनले च्याउखेती नै रोजे । उनले नार्गाजुन नगरपालिका वडा नं. ५ आमकोटमा साझेदारीमा च्याउखेती गर्न सुरु गरेका हुन् । २०७६ सालमा सुरु गरेको च्याउखेती साझेदारीमा साढे दुई वर्ष काम गरे । च्याउखेतीसम्बन्धी आवश्यक ज्ञान, सीप र अनुभव बटुलेपछि एक्लै गर्ने सोचका साथ थाक्रे गाउँपालिका–१०, केवलमा ३० रोपनी जग्गा भाडामा लिएर च्याउखेती गरेको पौडेलले बताए ।

गाउँमै खेती गरेको भर्खर डेढ वर्ष भयो । जलेश्वर कृषि च्याउ तथा पशुपन्छी फर्म प्रालि नामको कम्पनीमार्फत च्याउखेतीमा १ करोड लगानी रहेको उनले बताए । एक साताअघि २५ लाखमा च्याउ बोक्न महिन्द्राको गाडी किनेको उनको भनाइ छ । परिवारमा सबैको फरक–फरक पेसा रहेको उनले बताए । ६ जनालाई आंशिक रोजगारी दिइरहेको पौडल बताउँछन् ।

उनका ४५ वटा च्याउघर छ । दुई रोपनीमा ग्रिन हाउस छ । ३० रोपनी जग्गा वार्षिक ७५ हजार रुपैयाँ भाडामा लिएको उनले बताए । दैनिक पाँच सय केजी च्याउ कालीमाटी बजार पठाउने गरेको पनि पौडेल बताउँछन् । वार्षिक १ करोड ४४ लाख रुपैयाँको करोबार हुने गरेको पौडेलले बताए । अहिलेका मुख्य समस्याको रूपमा पराल ढुवानी रहेको भए पनि च्याउमा खासै रोग नदेखिएकोमा उनी खुसी छन् । राजेन्द्र बस्नेतको यो समाचार कारोबार दैनिबाट दिईएको हो ।